सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर कारागारमा झडपपछि १५ जना कैदिबन्दी अन्यत्र सारिए

२०८२ चैत्र २६, ०२:५२ खबर संवाददाता

धनगढी: कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएपछि १५ जनाको स्थानान्तरण गरिएको छ । बुधबार आपसी मनमुुटावको विषयमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका थिए । झडपमा परेर घाइते भएका तीन जना समेतका १५ जनालाई बुधबार नै नौबस्ता कारागार बाँके स्थानान्तरण गरिएको कञ्चनपुर कारागार प्रशासनले जनाएको छ । जेलर हेमन्ती साउँदले स्थानान्तरणको प्रक्रिया पुर्याएर नौबस्ता सरुवा गरिएको बताइन् ।

उनकाअनुसार बुधबारको झडपमा घाइते भएका भुवन नाथ, भुवन ऐर र प्रकाश घरेडीसहितका १५ जनालाई नौबस्ता पठाइएको छ । झडपका क्रममा घाइते भएका अन्य दुुई जना दाजुु दमाई र आयुश बम भने कञ्चनपुरमै छन् । महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि उनीहरु पनि डिस्चार्ज भइसकेका छन् ।

कञ्चनपुर कारागारमा यसअघि गत पुसमा समेत कैदीबन्दीबीच झडप भएको थियो । कारागारभित्र बाहिरबाट मदिरा तथा लागूऔषध भित्र्याउने र महंगोमा कारोबार गरेको विषयमा कारागार चौकीदार र नाइकेबीच विवाद भएको थियो । सोही विवादका क्रममा झडप भएको बताइएको छ ।

तर जेलर साउदले भने बुुधबारको झडपको कारण ‘आपसी विवाद’ भएको बताइन् । अन्य कुरा सुनिए पनि पुष्टि हुन नसकेको उनी बताउँछिन् ।

कमेन्ट लोड गर्नुस