सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नयाँ शैक्षिक सत्रबाट सञ्चालनमा आउने
कैलालीः भौतिक संरचना बनेको लामो समयदेखि अलमलमा परेको कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आगामी शैक्षिक सत्रबाट सञ्चालनमा आउने भएको छ । नयाँ सरकारले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेट र कानुनी प्रक्रियालाई प्राथमिकता दिएर नयाँ शैक्षिक सत्रबाट पठनपाठन सुरु गर्ने खबरले सुदूरपश्चिमवासीमा उत्साह छाएको छ ।
नेपाल सरकारले २०८० माघ २९ गते मन्त्रीपरिषद् बैठकले कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने निर्णय गरेको थियो । करिब ५१ हेक्टर क्षेत्रफलमा फैलिएको यो संरचनामा नेपाल सरकारको छ अर्ब रुपियाँभन्दा बढी लगानी भइसकेको र ४२ वटा भवन ठडिएको पनि धेरै समय बितिसकेको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नं। ५ बाट निर्वाचित सांसद डा। आनन्दबहादुर चन्द उक्त विश्वविद्यालय आगामी शैक्षिक सत्रदेखि सञ्चालनमा आउने विश्वास व्यक्त गरे। उनले भने, ‘विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेटको सुनिश्चित भइसकेको छ । यो विश्वविद्यालय सञ्चालनमा आएसँगै सुदूरपश्चिम क्षेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा ठुलो अवसरको ढोका खुल्ने छ ।’
सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक विगत दुई वर्षदेखि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा थन्किएको छ । प्रतिनिधि सभा सदस्य चन्द नयाँ सरकारले गेटामा शैक्षिक कार्यक्रम सुरु गर्न र अस्पतालको सेवालाई विस्तार गर्न कानुनी र व्यावहारिक बाटो खोल्ने बताउछन्।
उनका अनुसार सुरुको चरणमा ५० जना विद्यार्थीलाई एमबिबिएस वा चिकित्सा शिक्षा पढाउने योजना रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले यो विश्वविद्यालय सञ्चालनमा चासो दिएकाले बजेटको व्यवस्था भएको उनको भनाइ छ ।
सुदूरपश्चिमका सांसदहरूले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा यो विश्वविद्यालय सञ्चालनका लागि रणनीतिक योजनामा राखेर बजेट विनियोजन गर्न प्रधानमन्त्री शाहको ध्यानाकर्षण गरेको कैलाली निर्वाचन क्षेत्र नं। ४ का प्रतिनिधि सभा सदस्य खेमराज कोइरालाले बताए।
उनले विश्वविद्यालय तत्काल सञ्चालनमा ल्याउन दुई अर्ब ५८ करोड रुपियाँ बजेट सुनिश्चित भएको र प्रधानमन्त्री शाहले विश्वविद्यालयको काम तत्काल अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए।
यसअघि सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टीकापुर अस्पताललाई यस विश्वविद्यालयसँग आबद्ध गर्ने विषयमा प्रदेश सरकारले स्वीकृति दिइसकेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा सुनीलकुमार जोशीले नयाँ शैक्षिक सत्रबाट चार वटा सङ्कायमा पठनपाठन सुरु गर्ने तयारी भइरहेको जानकारी दिए। उनले सरकारले विश्वविद्यालय सञ्चालनलाई प्राथमिकतामा राखेको र आवश्यक बजेट व्यवस्थापनमा सकारात्मक रहेको बताए।
विश्वविद्यालय सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे ९आगो० ले सुदूरपश्चिमवासीको लामो समयदेखिको सपना साकार हुने आशा व्यक्त गरे। विश्वविद्यालय सभाको पहिलो बैठक आगामी २५ गते बिहान ९ बजेदेखि विश्वविद्यालयपरिसरमै आयोजना हुने भएको छ । बैठकको सम्पूर्ण तयारी पूरा भएको विश्वविद्यालयका उपकुलपति प्राडा सुनीलकुमार जोशीले जानकारी दिए।
यसअघि विश्वविद्यालय सभाको तीन वटा बैठक सङ्घीय राजधानी काठमाडौँमा भएकोमा पहिलो पटक विश्वविद्यालय रहेकै स्थानमा बैठक बोलाइएको हो । जोशीका अनुसार बैठकमा विश्वविद्यालयसँग सम्बन्धित नियमावली, विभिन्न कार्यविधिको मनोनयन तथा अनुमोदन, आर्थिक नियमावली र खरिद नियमावलीका विषयमा छलफल हुने छ । (गाेरखापत्र)