धनगढीमा आगलागीबाट १० कट्ठा गहुँबाली नष्ट
धनगढीः धनगढी उपमहानगरपालिका–१४, फूलवारीस्थित बिगाउँमा आगलागी हुँदा एक स्थानीय कृषकको ठूलो क्षति भएको छ। स्थानीय डम्मरराज ओझाको खेतमा थ्रेसिङका लागि थुपारेर राखिएको करिब १० कट्ठा गहुँबालीमा आगो लाग्दा सम्पूर्ण बाली जलेर नष्ट भएको हो।
स्थानीयका अनुसार बालबालिकाले खेल्ने क्रममा सलाई प्रयोग गर्दा आगो लागेको आशंका गरिएको छ। आगलागी लगत्तै स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको थियो।
घटनाबाट ओझा परिवारले वर्षभरिका लागि तयारी गरी राखेको गहुँबाली पूर्ण रूपमा नष्ट भएपछि खाद्य संकटको चिन्ता बढेको छ। स्थानीय कामदेव ओझाले पीडित परिवारलाई तत्काल राहत तथा सहयोग आवश्यक रहेको बताएका छन्।