काठमाडौँमा प्रहरी अपरेसन, एकै रातमा १७ डन पक्राउ
काठमाडौं: राजधानीमा बढ्दो गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले विशेष अपरेसन सुरु गरेको छ।
नयाँ सरकार गठनपछि सक्रिय बनेको प्रहरीले गुण्डागर्दी र आपराधिक गतिविधिविरुद्ध अभियान तीव्र पारेको जनाएको छ। अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंको संयुक्त सक्रियतामा विभिन्न स्थानबाट गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार शुक्रबार राति मात्रै १३ जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा अशोक गिरी, सञ्जीव लामा, सुरेश गुरुङ, किमजोङ बोस लगायत रहेका छन्। उनीहरूविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यसैगरी, प्रहरी परिसर काठमाडौंले पनि थप ४ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा श्याम लामा समूहसँग सम्बन्धित प्रविण गुरुङ, बाफल क्षेत्रका बिर्जु महर्जन, कलंकीका सुनज कार्की र स्युचाटारकी सरु हुमागाईं रहेका छन्।
प्रहरीले पछिल्लो समय विभिन्न सरकारी कार्यालयमा सक्रिय बिचौलियामाथि पनि निगरानी बढाउँदै नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ। बिचौलियाको चलखेल बढेको गुनासोपछि प्रहरी थप कडाइका साथ प्रस्तुत भएको हो।
प्रहरीका अनुसार यस प्रकारका अपरेसन आगामी दिनमा पनि निरन्तर जारी रहनेछन्।