सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको हिमाली गाउँपालिकाद्वारा १४२ जना छुट मुक्त हलियालाई परिचयपत्र वितरण

२०८२ चैत्र १९, ०६:०१ खबर संवाददाता

धनगढी: बाजुराको हिमाली गाउँपालिकाले १४२ जना छुट मुक्त हलियाहरुलाई मुक्त हलिया परिचयपत्र वितरण गरेको छ ।

बुधबार एक समारोहका बीच गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले छुट मुक्त हलियाहरुलाई परिचयपत्र वितरण गरेका हुन् ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको कानूनी तथा प्राविधिक सहयोगमा गाउँपालिकाले वि.सं. २०८० सालमा मुक्त हलिया पुनःस्थापना कार्यबिधि पारित गरि तथ्यांक संकलन गरेको थियो । तथ्यांक संकलन गरेका मुक्त हलियाहरुको प्रमाणिकरण तथा वर्गिकरण गरि १ जनाले ‘क’ वर्ग र १४१ जनाले ‘ख’ वर्गको परिचयपत्र प्राप्त गरेको संस्थाका सामुदायिक सहजकर्ता जनसरी सार्कीले जानकारी दिइन ।

‘क’ वर्गको रातो परिचयपत्र पाएका हिमाली गाउँपालिका– ६ बस्ने रंग लुहारले खुशी व्यक्त गर्दै स्थानीय सरकारलाई धन्यवाद दिए । उनले सरकारले छिट्टै पुनःस्थापना गर्नुपर्ने बताए । परिचयपत्र पाएपछि हलियाहरु उत्साहित भएका र अव छिट्टै सरकारले पुनःस्थापना कार्यक्रम ल्याउनु पर्ने हलिया आन्दोलनका अगुवा कलुवा लुहारले बताए ।

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल र उपाध्यक्ष राजकला सार्कीले स्थानीय सरकारद्वारा परिचयपत्र वितरण गरेका हलियाहरुको छिटो पुनःस्थापना गर्न प्रदेश र संघीय सरकारको सहयोग आवश्यक रहेको बताए ।

संघीय सरकारले मुक्त हलिया पहिचान र पुनःस्थापनाको अख्तियारी स्थानीय सरकारलाई हस्तान्तरण गरेपछि लामो समयदेखि राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले स्थानीयतहहरुसँग मुक्त हलियाहरुको पहिचान र पुन:स्थापनाका लागि निरन्तर वकालत गर्दै आएको संस्थाले जनाएको छ ।

छुट मुक्त हलियाहरुको प्रमाणिकरण, वर्गिकरण र परिचयवितरण प्रक्रियामा राष्ट्रिय मुक्त हलिया समाजमहासंघ नेपालले लुथरन बिश्व फेडेरेशन नेपालसँगको सहकार्यमा संचालित स्थानीयदेखि विश्वव्यापी मानव अधिकार वकालतमार्फत नेपालमा सीमान्तकृत समुदाय र सामाजिक रुपमा बहिष्कृत जनसंख्याको सशक्तिकरण एलटुजी परियोजनाले व्यवस्थापकीय सहयोग गरेको जनाइएको छ ।

संस्थाद्वारा संचालित एलटुजी परियोजनाको सहयोगमा यो महत्वपूर्ण उपलब्धी भएको र यस्ता अभियानहरुलाई अझै अन्य पालिकाहरुमा पनि निरन्तर अधि बढाउने योजना रहेको संस्थाका कार्यकारी निर्देशक हरिसिंह बोहराले बताए ।

कमेन्ट लोड गर्नुस