सरकार “आशाको दियो” बनोस्, “डढेलो” बने नियन्त्रण गर्छौं:राप्रपा सांसद ज्ञानेन्द्र शाही
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारलाई जनताको आशा र भरोसाको केन्द्र बन्न आग्रह गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा दलीय धारणा राख्दै उनले विगतका कमजोरी नदोहोर्याई जनताको आवाज सुन्ने शासन सञ्चालन गर्नुपर्ने बताए।
शाहीले सरकार केवल सत्ता सञ्चालनको संयन्त्र नभई जनताको भविष्य उज्यालो पार्ने “आशाको दियो” बन्नुपर्नेमा जोड दिए। उनले सो दियो जोगाउने दायित्व आफ्नो दलको पनि भएको उल्लेख गर्दै, यदि सरकार गलत दिशातर्फ गई “डढेलो” बन्न खोजे त्यसलाई नियन्त्रण गर्न आफूहरू सक्षम रहेको चेतावनी दिए।
उनले आवश्यक परेमा राप्रपाले सरकारलाई दुई तिहाइ बहुमत जुटाउन समेत सहयोग गर्न सक्ने बताए। साथै, प्रदेश संरचना खारेज गर्ने र संवैधानिक राजतन्त्र पुनःस्थापना गर्ने गरी संविधान संशोधन गर्ने पहल भएमा आफ्नो पार्टी सहयोग गर्न तयार रहेको उनले स्पष्ट पारे।