सुदूरपश्चिम सरकारद्वारा स्थानीय सेवा गठन तथा सञ्चालन नियमावली स्वीकृत, अस्पतालका अध्यक्ष र खेलकुद सदस्य नियुक्त
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दुई जिल्ला अस्पतालमा नयाँ नेतृत्व चयन गरेको छ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले डोटी र अछाम जिल्ला अस्पतालको अध्यक्ष पदमा नयाँ नियुक्ति गर्ने निर्णय गरेको हो। सरकारको निर्णय अनुसार डोटी जिल्ला अस्पतालको अध्यक्षमा डोटीकै भरत बोहरा र अछाम जिल्ला अस्पतालको अध्यक्षमा अछामका लीलाराज केसी नियुक्त भएका छन्। यस्तै, प्रदेश खेलकुद परिषद्को सदस्य पदमा कञ्चनपुरका लीला बोहरा र काशीराम बोहरा तथा बैतडीका पूर्णबहादुर टेरलाई मनोनीत गरिएको छ।
यस्तै, बैठकले प्रशासनिक र कानुनी सुधारका क्षेत्रमा पनि महत्त्वपूर्ण निर्णयहरू गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का पदाधिकारीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५ को अनुसूचीमा हेरफेर गरिएको छ भने सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन नियमावली स्वीकृत गरिएको छ। यसका साथै प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक सम्बन्धी ऐनको अनुसूची २ मा समेत संशोधन गरिएको छ।
भौतिक पूर्वाधार र सामाजिक सुरक्षाका विषयमा निर्णय गर्दै सरकारले बाजुराको हिमाली गाउँपालिकामा अस्थायी प्रहरी चौकी भवन निर्माणका लागि सशर्त अनुदान हस्तान्तरण गर्ने निर्णय गरेको छ। बैठकले सुदूरपश्चिम प्रदेश सवारी साधन खरिद तथा प्रयोग सम्बन्धी निर्देशिका, वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्था र ‘सुदूरपश्चिम जनता आवास कार्यक्रम कार्यविधि समेत स्वीकृत गरेको छ।