घोडाघोडी नगरपालिकाद्वारा निःशुल्क शववाहन सेवा सञ्चालन
घोडाघोडीः कैलालीको घोडाघोडी नगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ।
सवारीसाधनको अभावका कारण मृतकको शव आर्यघाटसम्म पुर्याउन परिवारले भोग्नुपरेको कठिनाइलाई मध्यनजर गर्दै सेवा सुरु गरिएको नगरप्रमुख खडकबहादुर रावतले बताए।
उनले भने, 'दुःखको बेला नागरिकले आर्थिक, सामाजिक तथा व्यवस्थापकीय समस्या झेल्न नपरोस् भन्ने मानवीय सोचका साथ सेवा सञ्चालनमा ल्याइएको हो। यसले महँगो भाडा तिर्न बाध्य हुने अवस्थालाई पनि अन्त्य गर्ने विश्वास छ।'
नगरपालिकाले ठेक्का प्रक्रियामार्फत करिब २८ लाख ८९ हजारको लागतमा आधुनिक सुविधा सम्पन्न शववाहन खरिद गरेको नगरप्रमुख रावतले जानकारी दिए।