सुदूर नेपाललाई विश्वसँग जोड्दै

अजयखोलामा झोलुङ्गे पुल बनेपछि माझपाली–धौलकाँडाबीच दूरी घट्यो, स्थानीयलाई सहज

२०८२ चैत्र १७, ०४:५१ खबर संवाददाता

बाजुराः बाजुराको गौमुल गाउँपालिका–३ स्थित अजयखोलामा निर्माण गरिएको झोलुङ्गे पुलले दुई बस्ती जोडिएसँगै दूरी पनि छोटिएको छ ।

माझपाली र धौलकाँडा बस्तीबीच खोलामा बनेको यो पुलले स्थानीयको आउजाउ सहज बनाएको छ । पुल नहुँदा एक बस्तीबाट अर्को बस्तीमा जान झन्डै एक घण्टाको पैदल यात्रा गर्नुपर्ने अवस्था थियो । त्यति मात्र होइन, विद्यालय एक बस्तीमा भएकाले अर्को बस्तीका बालबालिकालाई विद्यालय जान निकै कठिनाइ हुने गरेको थियो । अहिले पुल निर्माण भएसँगै त्यो समस्या हटेको छ ।

गौमुल गाउँपालिका–३ स्थित थुम्थला आधारभूत विद्यालय कक्षा ६ की छात्रा मनमती रोकायाले पुल नहुँदा गाउँदेखि विद्यालयसम्म पुग्न झन्डै एक घण्टा लाग्ने गरेको बताए। उनले भने, “अहिले माझपाली र धौलकाँडालाई जोड्ने झोलुङ्गे पुल बनेपछि दुई–चार मिनेटमै विद्यालय पुग्न सकिन्छ।”

पुल नहुँदा खोला तर्न समस्या हुने गरेको थियो । अहिले पुल बनेपछि पहिलाको सबै समस्याको अन्त्य भएको रोकायाले बताए।  संघीय सरकारको आर्थिक वर्ष २०७९ मङ्सिरमा निर्माण सुरु भएको पुल २०८१ वैशाखमा सम्पन्न भएपछि औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

गौमुल गाउँपालिका–३ का वडा अध्यक्ष गोरखबहादुर रोकायाले पुलले बालबालिकालाई मात्र होइन, माझपाली, धौलकाँडा, गर्जे र पातेका स्थानीयलाई पनि आवतजावतमा ठूलो सहजता दिएको बताउ।  उहाँका अनुसार यो झोलुङ्गे पुल जिल्लाकै अन्य पुलभन्दा लामो भएकाले अहिले यसलाई हेर्न आउने स्थानीयको समेत लर्को लाग्ने गरेको छ ।

अहिले यो पुलबाट झन्डै २६३ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
 

कमेन्ट लोड गर्नुस