प्रधानमन्त्री बालेनद्वारा सांसदहरूसँग प्रदेशगत छलफल सुरु
काठमाडौंः प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदहरूसँग छलफल प्रक्रिया अघि बढाएका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर उनले छलफल सुरु गरेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल कर्णाली प्रदेशका सांसदहरूसँग छलफल भइरहेको छ, जसमा सबै दलका प्रतिनिधिहरू सहभागी छन्।
आजै अन्य प्रदेशका सांसदहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय गरिएको छ। प्रदेशअनुसार समूहगत रूपमा छुट्टाछुट्टै छलफल गर्ने तयारी गरिएको सचिवालयले जनाएको छ।
‘आज समय पुगेसम्म समूहगत छलफल गरिनेछ, बाँकी सांसदहरूसँग अर्को दिन फेरि छलफल हुनेछ,’ सचिवालयका एक सदस्यले बताए।
यसअघि आइतबार प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्का सदस्यहरूसँग पनि छलफल गरेका थिए। उक्त छलफलमा उनले मन्त्रीहरूको योजना सुन्दै कुनै अन्योलमा नपरी काम अघि बढाउन निर्देशन दिएका थिए।