सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले सुदूरपश्चिममा एयर एम्बुलेन्स स्ट्यान्डबाइ राख्ने 

२०८२ चैत्र १६, ११:१९ खबर संवाददाता

धनगढीः सङ्घीय सरकारले सुदूरपश्चिमसहित देशका विभिन्न दुर्गम क्षेत्रहरूमा आपतकालीन स्वास्थ्य सेवा सुदृढ बनाउन एयर एम्बुलेन्स ‘स्ट्यान्डबाइ’ अवस्थामा राख्ने व्यवस्था गर्ने भएको छ। शासकीय सुधारका लागि तय गरिएको १०० कार्यसूचीभित्र यो योजना समावेश गरिएको हो।

कार्यसूचीअनुसार सुदूरपश्चिम, मध्य तथा पूर्वी नेपालका पहाडी क्षेत्रमा आकस्मिक स्वास्थ्य सेवाको पहुँच बढाउन एयर एम्बुलेन्स सेवा तत्काल तयारी अवस्थामा राखिनेछ।

त्यसैगरी, विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गर्दै सरकारी र निजी अस्पतालहरूले कम्तीमा १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था कडाइका साथ लागू गरिने सरकारको योजना छ।

अस्पतालहरूले प्रदान गर्ने निःशुल्क सेवाको विवरणलाई पारदर्शी बनाउन ‘फ्री हेल्थ पोर्टल’ विकास गरी ३० दिनभित्र देशभर सञ्चालनमा ल्याइने बताइएको छ। यस प्रणालीमार्फत सेवाको वास्तविक समयमै अनुगमन गर्न सकिनेछ।

बिरामीको उपचार इतिहास, रिफरल प्रक्रिया, पुनःसेवा तथा क्लिनिकल फलोअपलाई व्यवस्थित गर्न तीन महिनाभित्र डिजिटल तथा एकीकृत ‘पेसियन्ट रेकर्ड सिस्टम’ पनि लागू गरिनेछ।

निजी अस्पतालमा अनावश्यक रूपमा रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्न स्पष्ट र व्यवस्थित रिफर प्रोटोकल लागू गरिने उल्लेख गरिएको छ।

यसका साथै, जलनका बिरामीहरूको उपचारका लागि प्रदेशस्तरमा सुविधासम्पन्न सेवा अभावलाई सम्बोधन गर्न ३० दिनभित्र प्रदेश अस्पतालहरूमा ‘बर्न वार्ड’ स्थापना प्रक्रिया अघि बढाइने सरकारको योजना रहेको छ।
एयर एम्बुलेन्सको व्यवस्था भए विभिन्न दुर्घटनान परेका व्यक्तिलाई तुरुन्त उद्धार गर्न सहज हुने विश्वास गरिएको छ।

कमेन्ट लोड गर्नुस