धनगढी उपमहानगरपालिकाको पहल: घरदैलोमै पुगेर अपाङ्गता सहायक सामग्री वितरण, ४ वर्षमा ४९४ लाभान्वित
धनगढीः धनगढी उपमहानगरपालिका ले अपाङ्गता भएका नागरिकको जीवन सहज बनाउने उद्देश्यले २०७९ सालदेखि खोजीखोजी नि:शुल्क सहायक सामग्री वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ।
उपमहानगरले अपाङ्गताको प्रकृतिअनुसार व्हिलचेयर, वाकर, कृत्रिम हातखुट्टा, बैसाखी, सेतो छडी, सिपी चेयर, क्रचेज, ट्राइसाइकल र कमोड चेयर लगायतका सामग्री उपलब्ध गराउँदै आएको छ। सम्मानपूर्ण जीवनयापन र सेवामा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित यो कार्यक्रम अघि बढाइएको जनाइएको छ।
स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थी का अनुसार, सहायक सामग्री आवश्यक पर्ने व्यक्तिको पहिचान गर्न हरेक वर्ष पालिकालाई पाँच क्लस्टरमा विभाजन गरी स्क्रिनिङ्ग शिविर सञ्चालन गरिन्छ। त्यसपछि सम्बन्धित व्यक्तिको घरदैलोमै पुगेर सामग्री वितरण गर्ने गरिएको छ।
उपमहानगरको तथ्याङ्कअनुसार चार वर्षमा ४९४ जना अपाङ्गता भएका नागरिकलाई २० प्रकारका ५३८ सहायक सामग्री वितरण गरिएको छ। आर्थिक वर्ष २०७९/८० मा १८९ जनालाई २०५ सामग्री, २०८०/८१ मा १९६ जनालाई २१७ सामग्री, २०८१/८२ मा १०९ जनालाई ११६ सामग्री र चालु आर्थिक वर्ष २०८२/८३ मा २५७ जनालाई स्क्रिनिङ्ग गरी ३१८ सामग्री वितरण गरिएको छ।
क्लस्टरअनुसार फूलबारी क्षेत्रमा १२८ जनाले १३९ सामग्री, उर्मा क्लस्टरमा ११८ जनाले १२५ सामग्री, जुगेडा क्लस्टरमा ९० जनाले ९५ सामग्री, बेला क्लस्टरमा ६२ जनाले ६६ सामग्री र धनगढी क्लस्टरमा ९६ जनाले ११३ सामग्री प्राप्त गरेका छन्।
यस अवधिमा १४६ व्हिलचेयर, ४५ ट्राइसाइकल, २० वाकर, १६ कृत्रिम हातखुट्टा, १०१ वाकिङ स्टिक, ५८ क्रचेज र एक सिपी चेयर वितरण गरिएको उपमहानगरले जनाएको छ। हालसम्म ६५ लाख १६ हजार ४ सय रुपैयाँ बराबरको सामग्री वितरण भइसकेको छ भने चालु आर्थिक वर्षका लागि १८ लाख रुपैयाँ बराबरको सामग्री खरिद प्रक्रिया अगाडि बढाइएको छ।
नगर प्रमुख गोपाल हमाल ले स्थानीय सरकारले नागरिकमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै अपाङ्गता भएका व्यक्तिलाई सम्मानपूर्वक जीवनयापनमा सहयोग पुर्याउन यस्तो अभियान सञ्चालन गरिएको बताए। उनले धनगढीका १९ वटै वडामा रहेका अपाङ्गता भएका नागरिकलाई खोज्दै हरेक वर्ष सहायक सामग्री वितरण गर्दै आएको उल्लेख गरे।