लाइसेन्स, राहदानी र नागरिकता अब घरमै, सरकारले ‘गभर्नमेन्ट कुरियर’ सेवा ल्याउने
काठमाडौँ: सरकारले लाइसेन्स, राहदानी र नागरिकताजस्ता महत्वपूर्ण सरकारी प्रमाणपत्र नागरिकको घरमै पुर्याउने व्यवस्था गर्ने भएको छ। शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत बुँदा नम्बर २७ मा यस्तो योजना अघि सारिएको हो।
सरकारले हुलाक सेवालाई पूर्ण रूपमा आधुनिकीकरण गरी ‘गभर्नमेन्ट कुरियर सर्भिस’का रूपमा विकास गर्ने तयारी गरेको छ। यसमार्फत राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमति पत्र (लाइसेन्स) लगायतका कागजात सुरक्षित रूपमा नागरिकको घरमै डेलिभरी गरिने उल्लेख गरिएको छ।
त्यस्तै, नागरिकताको प्रतिलिपि र राहदानी देशको जुनसुकै जिल्लाबाट लिन सकिने व्यवस्था मिलाइने पनि सरकारले जनाएको छ। यसका लागि डिजिटल तथा एकीकृत प्रणालीमार्फत सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने योजना अघि सारिएको छ।
सरकारको यो कदमले सेवा प्रवाहलाई सहज, छिटो र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।