सरकारले गर्यो जेन्जी आन्दोलनका पीडितलाई न्याय र पुनर्स्थापनाका लागि एकीकृत पहल गर्ने घोषणा
संवत् २०८२ भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा प्रभावित परिवार तथा नागरिकहरूको न्याय, पुनर्स्थापना र राज्यप्रतिको विश्वास पुनःस्थापनाका लागि सरकारद्वारा एकीकृत पहल अघि बढाइने भएको छ।
उक्त पहलअन्तर्गत आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवार तथा घाइतेहरूको तथ्यांक सङ्कलन र प्रमाणीकरण गरिनेछ। उनीहरूको सम्मानजनक पुनर्स्थापना, जीवनयापनको सुरक्षा तथा सामाजिक संरक्षण सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
सरकारले १०० दिनभित्र योग्यता अनुसार सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराउने, सीप विकास कार्यक्रम सञ्चालन गर्ने तथा मनोसामाजिक परामर्शसहित पुनर्स्थापना सहायता प्रदान गर्ने जनाएको छ। यी सबै सेवा समेटिएको समन्वित प्याकेज कार्यान्वयन गरिनेछ।
त्यसैगरी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिनका लागि गठित गौरीबहादुर काकी आयोगको प्रतिवेदनका आधारमा दोषी व्यक्ति तथा पक्षहरूमाथि प्रचलित कानूनबमोजिम आवश्यक अनुसन्धान, कारबाही तथा अभियोजन प्रक्रिया तत्काल अघि बढाइने सरकारको प्रतिबद्धता रहेको छ।