तरकारीखेती र बङ्गुरपालनबाट आत्मनिर्भर बन्दै मनिषा चौधरी
कैलाली (अत्तरिया): धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीकी मनिषा चौधरी पछिल्लो दुई वर्षदेखि व्यावसायिक कृषि कर्ममा सक्रिय छिन्। तरकारीखेती र बङ्गुरपालनलाई मुख्य व्यवसाय बनाएकी उनले यसैबाट राम्रो आम्दानी गर्दै आएकी छन्।
एक बिघा जमिन भाडामा लिएर सुरु गरिएको उनको व्यवसाय अहिले विस्तार हुँदै गएको छ। सिजनअनुसार विभिन्न तरकारी उत्पादन गर्दै आएकी चौधरीले वर्षभरि नै उत्पादन गर्दै आएको बताइन्। उनका अनुसार तरकारी बिक्रीबाट मात्रै वार्षिक करिब रु चार लाखसम्म आम्दानी भइरहेको छ। दैनिक रूपमा रु एक हजार ५०० देखि दुई हजारसम्मको तरकारी बिक्री हुने गरेको उनले जानकारी दिइन्।
तरकारी बजारमा सजिलै बिक्री हुने मात्र नभई बारीबाटै ग्राहक आउने गरेको पनि उनले बताइन्। पछिल्लो समय बङ्गुरपालनबाट समेत राम्रो आम्दानी हुन थालेको उनको अनुभव छ।
सुरुमा एउटा मात्र बङ्गुरबाट व्यवसाय सुरु गरेकी उनले अहिले व्यवसायलाई उल्लेख्य रूपमा विस्तार गरिसकेकी छन्। हाल उनको खोरमा १९ वटा माउ र भाले बङ्गुर तथा ३० वटा पाठापाठी छन्। बङ्गुरपालनबाट मात्रै वार्षिक करिब रु तीन लाखसम्म आम्दानी भइरहेको उनले बताइन्।
उनका अनुसार पाठापाठी प्रतिगोटा रु पाँच हजारदेखि छ हजारसम्ममा बिक्री हुने गरेका छन् भने ठूला बङ्गुर प्रतिकिलो रु ३२० का दरले बिक्री हुन्छन्। उनले डिउरो, लेन्ड्रेसलगायत उन्नत जातका बङ्गुर पाल्दै आएकी छन्।
सात जनाको परिवारको सम्पूर्ण खर्च यही व्यवसायबाट धानिँदै आएको उनले सुनाइन्।