सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले प्रदेश र जिल्ला कमिटीले भन्यो- ओली र लेखकको गिरफ्तारी ‘पूर्वाग्रही र गैरकानुनी’

२०८२ चैत्र १४, ०१:५७ नारायण अवस्थी

धनगढीः नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी र कैलाली जिल्ला कमिटीले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीप्रति कडा आपत्ति जनाएका छन्।

विज्ञप्तिमा उक्त गिरफ्तारीलाई पूर्वाग्रहपूर्ण, प्रतिशोधपूर्ण र गैरकानुनी भएको ठहर गर्दै लोकतान्त्रिक मूल्य, मान्यता तथा विधिको शासनमाथि गम्भीर प्रहार भएको उल्लेख गरिएको छ।

एमालेले अध्यक्ष ओली र काँग्रेस नेता लेखकलाई तत्काल रिहाइको माग गर्दै यसप्रति घोर भर्त्सना र विरोध जनाएको छ।

प्रदेश र जिल्ला कमिटीले २०८२ भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठन गरिएको आयोगप्रति पनि असहमति जनाउँदै आएको उल्लेख गरेका छन्। आयोगको प्रतिवेदनले समेत गम्भीर प्रश्न उठाएको सन्दर्भमा उक्त प्रतिवेदनलाई पूर्वाग्रही, प्रतिशोधपूर्ण र न्यायिक सिद्धान्तविपरीत रहेको दाबी गरिएको छ।

साथै, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरिएको छ।

विज्ञप्तिमा पार्टीले यस घटनालाई लिएर देश, जनता र लोकतन्त्रको पक्षमा एकताबद्ध भएर अघि बढ्न सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई आह्वान गरेको छ।

यसैबीच, केन्द्रिय कमिटीको निर्णयअनुसार भोलि चैत १५ गते आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको जानकारी दिइएको छ। आवश्यकताअनुसार अन्य राजनीतिक दलहरूसँग समन्वय गरी थप विरोधका कार्यक्रम सञ्चालन गरिने पनि विज्ञप्तिमा उल्लेख छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस