सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोशी खोलाको बाढीमा सडक कर्मचारीको ज्यान गयो, विपी राजमार्ग अवरुद्ध

२०८२ चैत्र १४, ०९:५५ रासस

काभ्रेपलाञ्चोकः शुक्रबार साँझ परेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बगाउँदा डिभिजन सडक कार्यालय भक्तपुरमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ।

रोशी गाउँपालिका–७ निवासी करिब ४० वर्षीय कुन्साङ तामाङको बाढीमा परेर ज्यान गएको इलाका प्रहरी कार्यालय मङ्गलटारले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार तामाङ विपी राजमार्ग निर्माण कार्यमा संलग्न थिए। प्रहरीका अनुसार राति मोटरसाइकलमा सवार दुई जना खोला तर्ने क्रममा बग्न लागेपछि मोटरसाइकल छाडेर नजिकैको स्काभेटरमा चढेका थिए। उनीहरूलाई जोगाउने प्रयास गर्दा तामाङलाई बाढीले बगाएको हो। घटनामा एक मोटरसाइकल र एक विद्युतीय गाडीसमेत बगेको छ।

यस्तै, वर्षासँगै आएको बाढीपहिरोका कारण विपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। साँझ ६ बजेदेखि भकुण्डे–नेपालथोक सडकखण्डअन्तर्गत बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटार क्षेत्रमा लेदोसहितको पहिरो र खोलामा बढेको पानीका कारण यातायात रोकिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पानीको बहाव घट्न थालेपछि आज बिहानदेखि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा स्थानीयवासीको सहकार्यमा सडक खुलाउने प्रयास जारी छ। तर, लगातारको वर्षा र हावाहुरीका कारण पहिरो पन्छ्याउन कठिनाइ भइरहेको जनाइएको छ।

गत वर्षको बाढीपहिरोले क्षति पुर्‍याएपछि उक्त क्षेत्रमा खोलामै अस्थायी सडक निर्माण गरी सञ्चालनमा ल्याइएको थियो। हालको अवरोधका कारण ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभञ्ज्याङ, भकुण्डे, नेपालथोक र मङ्गलटार क्षेत्रबाट सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

कमेन्ट लोड गर्नुस