ओली पक्राउ परेपछि एमालेले बोलायो आकस्मिक बैठक
काठमाडौँ: नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक बैठक बोलाएको छ । सचिव महेश बस्नेतले बिहान साढे ८ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको जानकारी दिए । उनले बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने समेत बताएका छन् ।
‘राजनीतिक बन्दी नहुनु लोकतन्त्रको एक महत्त्वपूर्ण सूचक मानिन्छ । नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा राम्रो उदाहरण मानिन्थ्यो। तर पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको छ’, बस्नेतले भनेका छन् ।
उनले बालेन सरकारद्वारा सुधन गुरुङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको पनि बताएका छन् ।
‘यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ’, ओली र लेखक पक्राउपछि बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौँ संख्यामा खटिएको देख्दा दुःख लागेको पनि बताएका छन् ।
‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौँ’, बस्नेतले आह्वान गरेका छन्, ‘अहिले बिहान ८ः३० बजे बस्ने सचिवालयको बैठक पछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ ।’