सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई (जीवनीसहित)

२०८२ चैत्र १३, ०२:११ रासस

काठमाडौँ: लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका डा स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक छन् ।

गोरखाको बुङ्कोटमा जन्मिएका डा वाग्ले एक प्रखर अर्थशास्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति छन् । उनले विसं २०४२ को प्रवेशिका परीक्षामा बूढानीलकण्ठ स्कुलबाट देशभर दोस्रो स्थान हासिल गरेका थिए ।

डा वाग्लेले लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक, हार्वर्ड विश्वविद्यालयबाट अन्तरराष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पिएचडी (विद्यावारिधि) गरेका छन् ।

राजनीतिमा पूर्णकालीन रूपमा सहभागी हुनुअघि डा वाग्लेले दुई दशकभन्दा बढी समय अन्तरराष्ट्रिय एवं बहुपक्षीय आर्थिक मञ्चमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । उनले अमेरिकाको वासिङ्टन डीसीस्थित विश्व बैंकमा वरिष्ठ अर्थशास्त्री र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको मुख्यालयमा एसिया र प्रशान्त क्षेत्रका लागि प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरिसकेका छन् ।

नीति तथा योजना निर्माणमा पनि उनले महत्त्वपूर्ण योगदान दिएका छन् । राष्ट्रिय योजना आयोगको सदस्य र सन् २०१७ देखि २०१८ सम्म उपाध्यक्षका रूपमा उनले सफल नेतृत्व गरेका थिए ।

नेपाली कांग्रेसमा वैचारिक र नीतिगत तहमा रहेर भूमिका निर्वाह गरेका डा वाग्ले विसं २०७९ चैतमा उक्त पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । हाल उनी रास्वपाको उपसभापति र तनहुँ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य छन् । डा वाग्ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३८ हजार ४० मत प्राप्त गरी विजयी भएका थिए ।

विशेषगरी तथ्याङ्क र तर्कमा आधारित नीतिगत बहस गर्ने बौद्धिक नेताका रूपमा स्थापित डा वाग्लेले संसद्मा आर्थिक सुधार, सुशासन र युवा स्वरोजगारका विषयलाई प्रमुखताका साथ उठाउँदै आएका छन् ।

गोरखामा जन्मिएका वाग्ले सामान्य पारिवारिक परिवेशमा हुर्किएका हुन् । बाल्यकालदेखि नै अध्ययनमा रुचि राख्ने उनी अध्ययनशील र तर्कशील नेताका रूपमा चिनिन्छन् ।

विकास अर्थशास्त्र, सार्वजनिक नीति तथा आर्थिक सुधारका विषयमा उनले विशेष अनुसन्धान गरेका छन् । सोही अनुभवका कारण उनी अन्तरराष्ट्रियस्तरका नीतिगत बहसमा सहभागी हुँदै आएका छन् ।

उच्च शिक्षालगत्तै उनले विभिन्न अन्तरराष्ट्रिय संस्थामा काम गरेका थिए । विशेषगरी संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रममार्फत डा वाग्लेले विकास, गरिबी न्यूनीकरण र आर्थिक नीतिका क्षेत्रमा विशेष योगदान गरेका छन् ।

योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहँदा उनले अगाडि सारेका अवधारणामा नै बहुउद्देश्यीय बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया सुरु गर्ने तयारी भएको छ । आन्तरिक स्रोतको उपयोग गरेर उक्त आयोजनालाई अगाडि बढाउने गरी सरकारले निर्णय गरिसकेको छ । त्यसका अलावा सो जिम्मेवारीमा रहँदा उनले मुलुकको दीर्घकालीन विकास योजना, आर्थिक नीति सुधार तथा सुशासनका विषयमा काम गरेका थिए ।

खासगरी राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद्धिसँग जोड्नुपर्छ, मध्यमवर्गको विस्तार गर्नुपर्छ भन्ने मत राख्ने डा वाग्ले समकालीन नेपालको स्थापित अर्थशास्त्री एवं विकास रणनीतिकर्ताका रूपमा स्थापित छन् । “राजनीति केवल कल्पना र सपना मात्रै होइन, जनताले परिवर्तनको महसुस गर्नुपर्छ र त्यसका लागि गुणात्मक परिवर्तन गर्नुपर्छ”, भन्ने उनले मत राख्दै आएका छन् ।

निर्वाचनका क्रममा डा वाग्लेले विकास, सुशासन, रोजगारी सिर्जना तथा आर्थिक सुधारलाई प्रमुख एजेन्डा बनाएका थिए । आफ्नो विषय स्पष्टसँग राख्ने, राजनीतिमा आलोचनाभन्दा पनि विचारले श्रेष्ठ साबित हुनुपर्छ भन्ने मान्यता राख्ने डा वाग्लेले मतदातासँग प्रत्यक्ष संवादका क्रममा नयाँ सोच र परिणाममुखी राजनीतिका विषय उठाएका थिए ।

डा वाग्ले नेपाली राजनीतिमा नीतिगत क्षमता र आर्थिक विषयको ज्ञान भएका नेताका रूपमा चिनिन्छन् । अघिल्लो पटक सङ्घीय संसद् सदस्यका रूपमा उनले सदनमा खेलेको भूमिका पनि स्मरणीय रहेको छ ।

उनका विभिन्न अन्तरराष्ट्रिय जर्नलमा अर्थतन्त्रसम्बन्धी लेख तथा विचार प्रकाशित छन् । खासगरी समस्या पहिचान, तथ्य र आँकडा प्रस्तुतिका कारण डा वाग्लेको विश्लेषण समसामयिक र समस्या समाधानमा केन्द्रित रहने गरेको छ ।

खासगरी अर्थतन्त्र र विकास नीतिमा उनको विशिष्ट अनुभवले समृद्ध नेपाल निर्माणको सपना पूरा हुने अपेक्षा गरिएको छ ।


 

कमेन्ट लोड गर्नुस