कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा (जीवनीसहित)
काठमाडौँः नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम चितवन-३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समकालीन नेपाली राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनिन्छिन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधित्व गर्नुहुने गौतम युवाको आवाजलाई नीतिगत तहसम्म पुर्याउने स्पष्ट सोचका साथ राजनीतिमा सक्रिय छिन्।
विसं २०५२ असार ३ गते दोलखामा जन्मिनुभएकी गौतम हाल चितवनको भरतपुर महानगरपालिकालाई स्थायी बसोबास बनाउँदै आएकी छन्। सामान्य पारिवारिक परिवेशमा हुर्किएकी उहाँका बुबा कृष्णप्रसाद गौतम आमा र एक भाइ छन्।
शिक्षातर्फ रुचि राख्ने गौतमले माध्यमिक तहको अध्ययन भक्तपुरको एक विद्यालयबाट सम्पन्न गरेकी हुन्। त्यसपछि उनले कानुन विषयमा स्नातक पूरा गरेकी छन् भने हाल काठमाडौँ स्कुल अफ ल मा एलएलएम अध्ययनरत छिन्।
राजनीतिमा प्रवेशअघि नै कानुन, मानव अधिकार तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय रहनुभएकी गौतमले विभिन्न युवा अभियान र नीतिगत बहसमा आफ्नो उपस्थिति जनाउँदै आएकी थिइन्। कानुनी समस्या र अधिकार उल्लङ्घनका विषयलाई कानुनी प्रक्रियामार्फत समाधानतर्फ लैजाने अनुभव उनीसँग रहेको छ ।
त्यस्तै, राष्ट्रिय तहमा नीतिगत बहस, जनसरोकार र सुधार एजेन्डालाई संसद्मै उठाउने अनुभव उहाँमा छ । कानुन, न्याय तथा मानव अधिकार समितिमा पूर्वसदस्यका रुपमा उहाँले विधेयक, मानव अधिकार र न्यायका क्षेत्रमा प्रत्यक्ष अनुभव हासिल गर्नुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा कानुनी परामर्श अनुभवका साथै नेपालका युवा संस्थाको सञ्जालमार्फत अभियान सञ्चालन, सरकारसँग पैरवी र नीति दबाबमा सक्षम नेतृत्व उहाँले देखाउनुभएको छ ।
उहाँले अन्तरराष्ट्रिय तहमा आफ्नो पहिचान बनाउँदै संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रम तथा अन्तरसंसदीय सङ्घको स्वास्थ्य समितिमा सदस्यका रूपमा योगदान दिनुभएको छ । सार्वजनिक स्वास्थ्यका सम्बन्धमा संवादमार्फत जनचेतना फैलाउने कार्यमा उहाँको सक्रियता उल्लेखनीय छ ।
युवाको सहभागिता, सुशासन, पारदर्शिता र नीतिगत सुधारका पक्षमा स्पष्ट धारणा राख्नुहुने गौतमले राजनीतिलाई सेवा र परिणाममुखी कार्यसँग जोड्नुपर्नेमा जोड दिनुहुन्छ । निर्वाचनका क्रममा उहाँले विकास, सुशासन र युवालाई अवसर सिर्जनाका एजेन्डा अघि सार्नुभएको थियो ।
राजनीतिमा प्रवेश गर्नुअघि उहाँ सञ्चार क्षेत्रमा पनि परिचित हुनुहुन्थ्यो । विशेषगरी स्वास्थ्य कार्यक्रमको प्रस्तोताका रूपमा उहाँले तथ्यमा आधारित बहस, गलत सूचनाविरुद्ध अभियान तथा जनचेतनामूलक कार्यक्रममार्फत उहाँले समाजमा सकारात्मक प्रभाव पार्नुभएको थियो ।
सन् २०२३ मा ‘वन यङ वल्र्ड–पोलिटिसियन अफ द इयर अवार्डबाट सम्मानित गौतम युवापुस्ताको प्रतिनिधि स्वरका रूपमा स्थापित हुनुभएको छ ।
रास्वपाकी संस्थापक केन्द्रीय सदस्यसमेत रहनुभएकी गौतमले नीतिगत सुधार, पारदर्शिता र नागरिक–केन्द्रित शासन प्रणालीलाई प्राथमिकता दिने नयाँ पुस्ताको राजनीतिक नेतृत्वको प्रतिनिधित्व गर्नुहुन्छ ।
नीतिगत स्पष्टता, अध्ययनशीलता र सक्रियताका कारण उहाँलाई नेपाली राजनीतिमा सम्भावनायुक्त युवा नेताका रूपमा हेरिएको छ । समृद्ध नेपाल निर्माणमा युवाको भूमिका विस्तार गर्ने लक्ष्यसहित उहाँ संसद्मा सक्रिय रहनुभएको छ ।