सुधन गुरुङ गृहमन्त्री बन्दै: जेन्जी आन्दोलनबाट उदाएका नेताको उदय
काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका प्रमुख अगुवा सुधन गुरुङ अब गृहमन्त्री बन्ने भएका छन् । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारमा उनलाई गृहमन्त्रालयको जिम्मेवारी दिइने तयारी गरिएको हो ।
रास्वपा संसदीय दलका नेता बालेन्द्र शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् । बहुमत प्राप्त दलका नेताको हैसियतमा उनले सरकारको नेतृत्व सम्हालेका हुन् । उनको मन्त्रिपरिषद्मा महत्वपूर्ण मानिने गृहमन्त्रालय सुधन गुरुङलाई दिने निर्णय भएको छ ।
को हुन् सुधन गुरुङ?
सुधन गुरुङ जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका युवा अभियन्ता हुन् । गोरखाको चुमनुव्री गाउँपालिका–३ सिर्दिवासमा पुर्ख्यौली घर भएका गुरुङको जन्म २०४४ सालमा भएको हो ।
काठमाडौंस्थित मल्टी इन्टरनेसनल कलेजबाट ‘ए लेभल्स’ अध्ययन पूरा गरेपछि उनले विपद् व्यवस्थापनसम्बन्धी तालिम लिएर सहजकर्ताको रूपमा काम सुरु गरेका थिए । विभिन्न संघसंस्थासँग आवद्ध हुँदै सामाजिक कार्यमा सक्रिय बनेका उनी २०७२ सालको भूकम्पपछि ‘हामी नेपाल’ नामक संस्था स्थापना गरी राहत तथा उद्धार कार्यमा जुटिएका थिए ।
उनको संस्था शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र सामाजिक विकृतिविरुद्ध आवाज उठाउने उद्देश्यले सञ्चालन हुँदै आएको छ । बाढीपहिरोदेखि कोभिड महामारीसम्मका संकटका समयमा पनि उनले सक्रिय भूमिका खेलेका थिए । कोभिड अस्पताल निर्माणदेखि ड्रोनमार्फत राहत वितरणसम्मका काममा उनको संलग्नता देखिएको थियो ।
जेन्जी आन्दोलनपछि बढेको चर्चा
सामाजिक सेवामा सक्रिय भए पनि गुरुङलाई व्यापक रूपमा चिनिएको थिएन । तर २३ भदौमा काठमाडौंको माइतीघर मण्डलामा भएको जेनजी आन्दोलनपछि उनी राष्ट्रिय चर्चामा आए । आन्दोलनका क्रममा आफूलाई स्वयंसेवकका रूपमा प्रस्तुत गरेका उनले पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीप्रति देखाएको व्यवहारका कारण थप चर्चामा आएका थिए ।
यद्यपि, उनलाई जेनजी आन्दोलन ‘हाइज्याक’ गरेको आरोप समेत लाग्यो । पछि उनले आफ्नै समर्थनमा बनेको अन्तरिम सरकारविरुद्ध समेत आवाज उठाउँदै प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गरेका थिए ।
राजनीतिमा प्रवेश र सफलता
निर्वाचनको मुखमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाहलाई एक ठाउँमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसपछि उनी औपचारिक रूपमा रास्वपामा आबद्ध भए ।
गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनले नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका थिए ।
अब सामाजिक अभियन्ताबाट राजनीतिमा प्रवेश गरेका गुरुङ मुलुकको महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारीमा छन् ।