यस्तो छ जेन्जी आन्दोलनबारे कैलाली र कञ्चनपुरका सिडिओले बुझाएको विवरण
धनगढीः २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा बढी क्षति भएको जिल्लाको सूचीमा छन्, कैलाली र कञ्चनपुर। दुई जिल्लामा भएका घटनामा मानवीय क्षति नभए पनि आगजनी र तोडफोडले सरकारी सम्पत्तिमा ठुलो क्षति भएको छ।
जेन्जी विद्रोहको अध्ययन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि कैलाली र कञ्चनपुरमा बढी क्षति भएको भन्दै दुई जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई घटना विवरण मागेको थियो।
कञ्चनपुरका तत्कालीन सिडिओ लक्ष्मण ढकालले आयोगलाई बुझाएको घटना विवरण यस्तो
भदौ २३ गते जियनजेड आन्दोलनमा सुरक्षाकर्मीको गोली लागि मृत्यु भएको विषयलाई लिएर विद्यार्थी संगठनले साँझ १९ः०० बजेतिर भीमदत्त नगरपालिका वडा नं. ४ स्थित बजारमा मसाल जुलुस निकाली कोणसभा गरेको । भदौ २४ गेत बिहान ०७ः३० बजे यातायात व्यवसायी, चालक, सहचालकहरुले सडक बन्द गरी आन्दोलनमा ऐक्यवद्धता जनाउने क्रममा स्वतःस्फूर्त रुपमा राजनीतिक दलका विद्यार्थी नेता तथा राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा बजारमा व्यवसाय गर्ने व्यापारी, पावर अफ बुचका पदाधिकारी तथा सदस्यहरु, स्थानीय बासिन्दा, भारतीय मजदुर, व्यापारीहरु, चम्मन चोकमा जम्मा भई र्याली निकाली नेपाली कांग्रेस र नेकपा एमाले पार्टी कार्यालयमा केही व्यक्ति गई आगजनी तथा तोडफोड गरेको । सो पश्चात पूर्वगृहमन्त्री रमेश लेखकको बजारमा रहेको घर, नगरपालिका कार्यालयको गेट, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको गेटमा ढुङ्गामुढा, जिल्ला प्रशासन कार्यालयमा तोडफोड तथा आगजनी, शुक्लाफाँटा नगरापकिालको कार्यालय एवं वडा कार्यालयहरुमा तोडफोड तथा आगजनी, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका, दोधारा चाँदनी नगरपालिकामा तोडफोड तथा आगजनी गर्नुको साथै सवारी साधनहरुमा समेत क्षति पुगाएको थियो । जिल्ला प्रशासन कार्यालयमा सामान्य बल प्रयोग पश्चात भीड केही हदसम्म नियन्त्रण भई उक्त समूह पूर्वगृहमन्त्री रमेश लेखकको बेदकोट नगरपालिका ८ स्थित रहेको घरमा आगजनी गरेको, पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, प्रदे सभा सदस्य प्रकाश रावल, प्रदेश मन्त्रीहरु हिरा सार्की, बहादुर थापा, सुरेन्द्र पाल, नेकपा एमाले जिल्ला इन्चार्ज निरुदेवी पाल, जिल्ला समन्वय समिति प्रमुख, भीमदत्त नगरपालिकानगर प्रमुख–उपप्रमुख, बेदकोट नगरपालिकाका प्रमुख, कृष्णपुर नगरपालिकाका प्रमुख, शुक्लाफाँटाका प्रमुख लगायत ७७ स्थानमा आगजनी तथा तोडफोड भएको थियो ।
सुरक्षा निकायहरुको परिचालन र समन्वय
यस जिल्लामा रहेका सबै सुरक्षा निकायबीच एकआपसमा समन्वयमा रही परिचालन भएको । सुरक्षाकर्मीहरु जिल्लामा विभिन्न स्थानहरुमा छरिएर परिचालन हुँदा सुरक्षाकर्मीहरुको कम संख्यामा उपस्थिति भएको तर आन्दोलनकारीहरुको भीड ठुलो संख्यामा एकै स्थानमा रहेकोले सुरक्षाकर्मीहरुले जिल्लामा निजी तथा सरकारी कार्यालयहरुमा क्षति हुनबाट रोक्न नसकिएको । सुरक्षाकर्मीहरुले जिल्ला प्रशासन कार्यालयको सुरक्षार्थ केही अश्रुग्याँस र हवाइ फायर गरे पश्चात आन्दोलनक विभिन्न समूह समूहमा छरिएर राजनीतिक दलका नेता, मन्त्रीहरु, स्थानीय निकायका कार्यालय, स्थानीय निकायका प्रमुख–उप प्रमुखहरुको घरहरुलाई लक्षित गरी आगजनी तथा तोडफोड गर्ने कार्य तीव्ररुपमा गरेको हुँदा समयमा नै सबै स्थानमा सक्षाकर्मीहरु उपस्थित नहँदा उक्त घटनाहरुले उग्र रुप लिएको देखिन्छ । त्यसकारण आगामी दिनहरु हुने यस्ता आन्दोलनहरुलाई लक्षित गरी सुरक्षा निकायहरुको परिचालनमा आफ्नो माथिल्लो निकायको आदेश लिनुभन्दा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्यक्ष रुपमा आश्यकताअनुसार परिचालन हुनुपर्ने र सो अवधिको सम्पूर्ण जिम्मेवारी समेत प्रमुख जिल्ला अधिकारीको हुने कानुनी व्यवस्था गर्नुपर्ने देखिन्छ ।
कैलाली जिल्लाका तत्कालीन सिडिओ कृष्णप्रसाद लम्सालले बझुाएको घटना विवरण
कैलाली जिल्लामा समेत भदौ २३ गतेबाट गर्न लागिएको प्रदर्शन वा विरोधका सम्बन्धमा स्थानीय जेनजी समूहका सरिता जोशी लगायत अगुवाहरुबाट जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई जानकारी गराइएको तथा उक्त प्रदर्शन शान्तिपूर्ण हुने मौखिक प्रतिबद्धता आयोजकहरुबाट गरिएको थियो । सोही अनुसार प्रदर्शनलाई शान्तिपूर्ण रुपले संचालन गर्न प्रशासनबाट मौखिक सुझाव र निर्देशन दिइएको थियो । २३ गतेको दिन उक्त समूहबाट कैलाली जिल्लामा भए गरेका गतिविधि एवं सुरक्षा निकायबाट भए गरेका प्रयास देहाय बमोजिम रहेको सम्बन्धित निकायहरुवाट प्राप्त भएको छ । मिति २०८२।०५।२३ गते जेनजीद्वारा काठमाण्डौको संसद भवनमा भएको दुःखद ( मानवीय क्षति ) घटनालाई लिएर २४ गते जेनजीको आन्दोलन देशभरी नै सशक्त रुपमा हुन सक्ने भनी जिल्ला सुरक्षा समिति र सुरक्षा निकायहरुका प्रमुखहरुले खतराको बिश्लेषण गरी यस जिल्लाको प्रदेशका मन्त्रालयहरु, प्रदेश सभा, जिल्ला प्रशासन कार्यालय, केही सरकारी कार्यालयहरु लगायत केही राजनीतिक तहमा रहेका उच्च ओहदामा रहेका व्यक्तिहरुको नीजि निवास र व्यापारिक केन्द्रहरुमा तोडफोड र आगजनी हुन सक्ने सम्भावनालाई मध्येनजर गरी जिल्ला सुरक्षा समितिले प्राप्त सूचनालाई सुक्ष्म विश्लेषण गरी सुरक्षा दिनपर्ने भनिएका मुख्यमुख्य कार्यालयहरुः मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेशसभा, जिल्ला प्रशासन कार्यालय, बिशिष्ट व्यक्तिहरुको नीजि निवास लगायतका स्थानमा स.प्र.बल नेपाल नं. ३४ गण हे.क्वा. कैलालीले भदौं २३ गते तयार पारिएको सुरक्षा योजना अनुसार भदौ २४ गते बिहान ०८ः०० बजेदेखि नै डिउटी परिचालन गरिएको थियो ।
साथै विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, जिल्ला सुरक्षा समिति एवं अन्य सुरक्षा निकायहरुसंग निरन्तर समन्वय र ११ बजे भएको बैठक मार्फत आन्दोलनमा हुन सक्ने जोखिम बिश्लेषण गरी सुरक्षामा खटिएका कमाण्डरहरुलाई सुचना सम्प्रेषण गरिएको थियो । विभिन्न विषयलाइ लिएर मिति २४ गते बिहान विभिन्न समयमा कैलाली बहुमुखी क्याम्पस र ऐश्वर्य बहुमुखी क्याम्पस लगायत विभिन्न व्यक्तिहरु भेला जम्मा भई भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको बिरोध र्याली निकाली बजार परिक्रमा गरी मुख्यमन्त्री कार्यालय गेट अगाडि र जिल्ला प्रशासन कार्यालय कैलालीको गेट अगाडि भेला जम्मा भई कोणसभा गरेको । जिल्ला अन्य विभिन्न स्थानहरुमा समेत भ्रष्टाचार विरुद्ध ब्यानर सहितको रैली निकाली नारा जुलुस सहित विरोधका कार्यक्रमहरु गरिएका थिए । सोही दौरानमा जिल्लामा रहेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालयहरु, स्थानीय तहका कार्यालय भवन लगायत विभिन्न वडा कार्यालयहरु, अन्य विभिन्न सरकारी कार्यालयहरु, बिभिन्न पार्टीका पार्टी कार्यालहरु, नेपाल प्रहरीका इकाई तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यूको निवास, पूर्वमन्त्री लेखराज भट्टज्यूको घर, मेयर, वडा सदस्य लगायतका निजि निवास, होटल व्यापारीक स्थल लगायतका निजी प्रतिष्ठान, उल्लेखित स्थानहरुमा राखिएका विभिन्न चार पांग्रे र दुई पांग्रे सवारी साधनहरुमा समेत आगजनी तथा तोडफोड भएको थियो ।
सोही दिन ०८ः०५ बजे देखि जेन–जी समुहका अन्दाजी झण्डै हजार जना विद्यार्थीहरु लगायत जेनजी समुह समर्थकहरुले भ्रष्टाचारबिरुद्ध तथा सामाजिक सञ्जाल प्रतिबन्ध गरेको विषयलाई लिएर विरोध र्याली निकाली बजार परिक्रमा गरी कैलाली जिल्लामा रहेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालयहरु, विभिन्न सरकारी कार्यालयहरु, विभिन्न पार्टीका पार्टी कार्यालहरु, नेपाल प्रहरीका इकाई तथा भिआईपिहरुका निजि निवासहरुमा तोडफोड तथा आगजनी भएको र उक्त आगजनी तथा प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच भएको झडपमा१२ः४० बजे जिल्ला कैलाली धनगढी उमनपा–४ स्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सशस्पत्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गादत्त भट्टको कमाण्डमा खटिएको ३५ जनाको टोलीद्वारा २० वटा ग्याँस सेल, १० वटा ७.६२ मि.मि. वाल राउण्ड, स.प्र.बल, नेपाल नं. ३४ गण है.क्वा. कैलालीबाट स.प्र.ना.उ. सुमन रानाभाटको कमाण्डमा खटिएको ८५ जनाको टोलीद्वारा १७ वटा ग्याँस सेल फायर र २ वटा ७.६२ मि.मि. वाल राउण्ड हवाई फायर, ऐ. १ स्थित सुदूरपश्चिम प्रदेश सभा भवनमा स.प्र.बल, नेपाल नं. ३४ गण हे.क्वा. कैलालीबाट स.प्र. नि. नरेन्द्रबहादुर बिष्टको कमाण्डमा खटिएको ३५ जनाको टोलीद्वारा २४ वटा ग्याँस सेल र ६ वटा ७.६२ मि.मि. बाल राउण्ड हवाई फायर, स.प्र.बल, नेपाल बडिमालिका जवान तालिम शिक्षालय बनबेहडाबाट स. प्र. नि. किसनसिंह टेरको कमाण्डमा खटिएको ३५ जनाको टोलीद्वारा ४ वटा ग्याँस सेल फायर र ऐ. १ स्थित जिल्ला प्रशासन कार्यालय कैलालीमा स.प्र.उ. सुरेन्द्रराज रञ्जितको कमाण्डमा खटिएको ७० जनाको टोलीद्वारा २९ वटा ग्याँस सेल र ७ वटा ७.६२ मि.मि. वाल राउण्ड हवाई फायर गर्नुका साथै उक्त समुहले प्रदर्शन गरेको स्थानहरुमा स.प्र.बल, नेपाल नं. ३४ गण हे.क्वा. कैलालीबाट स. प्र.उ. सुरेन्द्र राज रञ्जितको कमाण्डमा मजकुर स.प्र.बल, नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय, मजकुर स.प्र.बल, नेपाल बडिमालिका जवान तालिम शिक्षालय बनबेहडा, नं. ४३ रिजर्भ गण हे.क्वा. बनबेहडा तथा यस गण मातहत कार्यालयहरुबाट समेत गरी ५०३ जनाको टोली परिचालन भएको ।
मिति २०८२ भाद्र २४ गते जेनजी समूहद्वारा गरेको आन्दोलनमा परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुगाएको, लुटपाट एवं आगजनी लगायतका घटना भएको भन्ने विषयलाई समेत मध्यनजर गरी सोही दिनको राती २२ः०० बजेबाट नेपाली सेना परिचालन पश्चात नेपाली सेनाले जिल्लाको शान्ति सुरक्षाको सम्पूर्ण जिम्मेवारी लिई जिल्लाका मुख्य मुख्य स्थानहरुमा तीन वटै सुरक्षा निकायहरुबाट संयुक्त रुपमा मोबाईल गस्ति, पैदल गस्ति, पिकेट लगायतका डिउटी परिचालन गरिएको थियो । मिति २४ गते जेनजी आन्दोलनकारी समूहद्वारा कैलाली जिल्लास्थित प्रदेश सरकारका मन्त्रालयहरु, सरकारी कार्यालयहरु, सरकारी कार्यालयका सवारी साधनहरु, केही मन्त्री र राजनितिक दलका नेताहरुको निजि घर तथा सवारी साधनहरु आगजनी, भाटभटेनी लगायत केही व्यापारीक केन्द्रहरुमा तोडफोड तथा आगजनी गरेकोमा उक्त घटना पश्चात २४ गते राती १० बजे देखि २५ गते बिहानसम्म कैलाली जिल्लामा व्यक्तिगत रिसिईबीका कारण सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि आगजनी, तोडफोड तथा ढुङ्गामुडा लगायत कुनै पनि किसिमको क्षति नभएको ।
सुरक्षा निकायको परिचालन र समन्वय
काठमाडौंमा भएको आन्दोलनको प्रभाव देशव्यापी रूपमा फैलिन सक्ने आकलन गर्दै सम्भावित थप क्षति, झडप तथा संवेदनशील घटनाहरू हुन नदिन जिल्ला प्रशासन कार्यालयमा प्र.जि.अ.को कमाण्डमा जिल्ला सुरक्षा समितिको आपतकालीन बैठक बसेर जोखिम मूल्यांकन तथा सुरक्षा रणनीति तय गरिएको थियो । सो बैठकको निर्णय अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा निकायहरूलाई प्रचलित कानूनी व्यवस्था तथा सुरक्षा कार्यविधिअनुसार सक्रिय रूपमा परिचालन गरिएको थियो । विशेषतः जिल्लाभित्रका राजनैतिक दलहरूको पार्टी कार्यालय, पूर्व प्रधानमन्त्री ÷ मन्त्री तथा स्थानीय जनप्रतिनिधिहरूका आवासीय क्षेत्र, स्थानीय निकायका विभिन्न कार्यालयहरु लगायत विभिन्न कार्यालय तथा स्थानहरुमा आवश्यक सुरक्षाकर्मी परिचालन गरी निगरानी, भीड नियन्त्रण, आकस्मिक घटना रोकथाम तथा शान्ति सुरक्षा व्यवस्था कायम हुने गरी विभिन्न सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रमुख जिल्ला अधिकारीबाट जिल्ला सुरक्षा समितिको बैठकमा प्रस्ताव राखी निषेधाज्ञा र कफ्र्यू आदेशसमेत जारी भएको थियो ।