चुनावमा आर्थिक लेनदेनबारे स्पष्ट पार्न कैलाली काँग्रेसको आग्रह
धनगढी: नेपाली काँग्रेस कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा आर्थिक लेनदेनसम्बन्धी आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काँग्रेस कैलाली जिल्ला कार्य समितिका सभापति नारायणदत्त भट्टले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीका नेता तथा कार्यकर्ताले कैलाली ५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारसँग आर्थिक लेनदेन गरेको आरोपमा ध्यानाकर्षण भएको जनाएका हुन् ।
उनका अनुसार निर्वाचन सम्पन्न हुनुअघि नै पार्टीले आफ्ना उम्मेदवारलाई विजयी गराउन तथा समानुपातिक मत वृद्धि गर्न निर्देशन दिएको थियो । निर्वाचन परिणाम सार्वजनिक भएपछि जिल्लाका पाँच वटै उम्मेदवार पराजयकोकारण, अनुभव, सुझाव तथा आगामी रणनीतिसहितको प्रतिवेदन पेश गर्न निर्देशन गरिएको भट्टले बताएका छन् ।
५ नम्बर क्षेत्रका उम्मेदवार नरनारायण शाह (मनु) ले कांग्रेसका ५७ जना नेता–कार्यकर्ताले आर्थिक लेनदेनमार्फत मत बदलेको आरोप लगाएको भन्दै भट्टले उक्त विषयमा स्पष्ट पार्न र जिम्मेवारी लिन मनुलाई आग्रह गरेका छन् ।
पार्टीका प्रदेश महामन्त्रीसमेत रहेका मनुले कांग्रेसकै ५७ जनाले आलेसंग पैसा बुझेको सूची आफूलाई प्राप्त भएको बताएका थिए । शाहका अनुसार आलेले बुझाएको सूचीमा रहेका अधिकांश नेता तथा कार्यकर्ता पार्टीको विभिन्न जिम्मेवारीमा छन् ।
यता आलेले भने आफूले सूची नै बुझाएको भन्दै मनुले गलत प्रचार गरेको बताए । उनले सूची नै बुझाएको भए सार्वजनिक गर्न चुनौती दिएका छन् ।