सेतीदेखि कर्णाली हुँदै टीकापुरसम्म जलयात्रा महोत्सव सुरु
धनगढी: सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा जलयात्रा महोत्सव सुरु भएको छ। ‘पर्यटन पूर्वाधार, समृद्ध प्रदेशको आधार’ भन्ने नारासहित सोमबार डोटीको सेती नदीबाट सुरु भएको महोत्सव कैलाली हुँदै कर्णाली नदी मार्गबाट टीकापुरसम्म र्याफ्टिङ गरिने कार्यक्रमसहित सञ्चालनमा आएको हो।
मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइले आयोजना गरेको महोत्सवमा डोटीको बोगटान फुड्सिल गाउँपालिकाले सहकार्य गरेको छ भने नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको छ। यसमा कैलालीको मोहन्याल गाउँपालिका, सुर्खेतको पञ्चपुरी नगरपालिका र बर्दियाको ठाकुरबाबा नगरपालिकाको समेत सहकार्य रहेको छ।
महोत्सवमा २५ जना विदेशी पर्यटक र २५ जना नेपाली जलयात्रा गाइड तथा चालकहरूको सहभागिता रहेको छ। प्राविधिक सहयोग कर्णाली र्याफ्टिङ एन्ड एडभेन्चर प्रालि, चिसापानीले गरेको छ। कम्पनीका देवराज जैसीका अनुसार यसअघि सेतीदेखि कर्णाली हुँदै चिसापानीसम्म जलयात्राको परीक्षण भइसकेको छ।
प्रदेश पर्यटन कार्यक्रमका प्रमुख डबलबहादुर बोहराले यस जलयात्राले लामो दूरीको र्याफ्टिङ सम्भाव्यता अध्ययन गर्नुका साथै साहसिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए। उनले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले सेती नदीमा सहभागीहरूलाई स्वागत गर्दै महोत्सवको शुभारम्भ गरेका थिए। सहभागीहरू आइतबार नै दिपायल पुगेका थिए।
महोत्सवलाई बुद्ध एयरलाइन्स, होटल एल अफ ठमेल, सालिनी बाटिका तथा इको रिसोर्ट गोदावरी, रिभरसाइड होटल दिपायल र वर्षा होटल दिपायल डोटीले समेत सहयोग गरेका छन्।