सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो छ काँग्रेसको प्रारम्भिक चुनावी समीक्षा

२०८२ चैत्र ७, ०४:४५ खबर संवाददाता


काठमाडौँः प्रतिनिधिसभा निर्वाचन २०८२ मा पराजित बनेपछि नेपाली काँग्रेसले आफ्नो प्रारम्भिक चुनावी समीक्षा सार्वजनिक गर्दै पराजयका कारण र आगामी रणनीतिबारे विश्लेषण गरेको छ। समीक्षा अनुसार काँग्रेस पुनः दोस्रो दलमा सीमित बनेको छ, जसले विगतदेखि दोहोरिँदै आएको ‘पहिलो–दोस्रो’ हुने चक्रलाई निरन्तरता दिएको निष्कर्ष निकालिएको छ।

पार्टीले रास्वपाको जितभन्दा पनि आफ्नो पराजयलाई मुख्य विषय मान्दै समयमै आत्मसुधार गर्न नसक्नु ठूलो कमजोरी भएको स्वीकार गरेको छ। समीक्षा प्रतिवेदनमा पार्टीले परिवर्तनको सन्देश मतदातासम्म पुर्‍याउन नसक्दा लामो समयदेखि बढ्दै आएको असन्तुष्टि मतमा परिणत भएको उल्लेख छ।

सभापतिको राजीनामा नैतिक रूपमा सकारात्मक कदम भए पनि पराजयको जिम्मेवारी सम्पूर्ण पार्टीले लिनुपर्ने निष्कर्ष काँग्रेसले निकालेको छ। छोटो समयमै विशेष महाधिवेशनपछि चुनावमा होमिँदा संगठनलाई सुदृढ बनाउने र मतदातामा प्रभाव पार्ने समय अभाव भएको पनि उल्लेख गरिएको छ।

समीक्षामा पराजयका प्रमुख कारणहरूमा राजनीतिक परिमार्जनमा ढिलाइ, स्थिर सरकार दिन नसक्नु, नेतृत्वमा दोहोरिने अनुहार, नीतिगत अस्थिरता, गठबन्धनप्रति बढ्दो वितृष्णा र प्रतिपक्षी भूमिकामा कमजोरीलाई औंल्याइएको छ। त्यस्तै, ढिलासुस्ती, भ्रष्टाचारप्रतिको असन्तुष्टि, अति राजनीतिकरण र संगठनभित्रको गुटबन्दीले पनि नकारात्मक प्रभाव पारेको बताइएको छ।

काँग्रेसले नागरिक असन्तुष्टि तीन चरणमा प्रकट भएको विश्लेषण गरेको छ—२०७९ को स्थानीय तह निर्वाचन, त्यसपछिको संघीय निर्वाचन र ‘जेनजी’ आन्दोलन। यी घटनाले जनतामा नयाँ विकल्प खोज्ने प्रवृत्ति बलियो बनेको निष्कर्ष निकालिएको छ।

समीक्षामा सामाजिक सञ्जाल र ‘एल्गोरिदम’ को प्रभावलाई समेत महत्वपूर्ण कारणका रूपमा लिइएको छ। मतदाताको मनोविज्ञानमा लोकप्रियतावाद हावी हुँदा विचार, नीति र कार्यक्रमभन्दा भावनात्मक अपीलले प्रभाव पारेको काँग्रेसको ठहर छ।

त्यस्तै, निजी क्षेत्रको विकास, वैदेशिक रोजगारी, आर्थिक अवस्था र ‘देश केही भएन’ भन्ने नकारात्मक भाष्यलाई प्रभावकारी रूपमा चिर्न नसक्नु पनि पराजयको कारण भएको उल्लेख गरिएको छ।

संगठनात्मक रूपमा पुरानो संरचनाले नयाँ चुनौती सामना गर्न नसकेको स्वीकार गर्दै काँग्रेसले पार्टी पुनर्संरचना, युवा केन्द्रित कार्यक्रम र आधुनिक प्रचार प्रणाली अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ।

समीक्षामा आन्तरिक असहयोग, ‘साइलेन्स किलिङ’ र ‘स्याबोटेज’ जस्ता गतिविधिले पनि उम्मेदवारको परिणाममा असर पारेको उल्लेख छ।

यद्यपि, पराजयका बीच काँग्रेसले आफ्नो मूल राजनीतिक सिद्धान्तको विजय भएको दाबी गरेको छ। वर्तमान संविधान, संघीयता र उदार अर्थतन्त्रप्रति सबै दल सहमत हुनु आफ्नो नीतिको सफलता भएको काँग्रेसको भनाइ छ।

साथै, पार्टीले आफू जिम्मेवार प्रतिपक्षका रूपमा संसदमा प्रस्तुत हुने, सकारात्मक काममा साथ दिने र कमजोरीमा कडा आलोचना गर्ने प्रतिबद्धता जनाएको छ। आगामी दिनमा नयाँ ऊर्जा, सुधार र एकताका साथ अघि बढ्ने संकल्प काँग्रेसले व्यक्त गरेको छ।

कमेन्ट लोड गर्नुस