हैदराबादमा डकैती आरोपमा ५ नेपाली नागरिक फरार, दुई करोड रुपैयाँ बराबरको लुटपाट
काठमाडौँः भारतको हैदराबादमा पाँच नेपाली नागरिकमाथि विगत केही महिनादेखि सुनचाँदीसहितका सामग्री डकैतीमा संलग्न रहेको आरोप लागेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले करिब दुई करोड भारतीय रुपैयाँ बराबरको लुटपाट गरेका छन्।
आरोपितमध्ये महेश शाही नाम गरेका एक व्यक्ति त्यहाँको एक घरमा काम गर्ने गरेका थिए। त्यस्तै, माया सिंहको नामले चिनिने अप्सरा शाहीले आफूलाई महेशकी श्रीमतीका रूपमा परिचय दिएकी थिइन्, तर उनीहरू वैवाहिक सम्बन्धमा नभएको बताइएको छ। दुवैले एउटै घरमा काम गरेका थिए।
यस घटनामा पदमबहादुर नाम गरेका अर्का व्यक्ति पनि संलग्न रहेको उल्लेख छ। साथै, सन्देश र उनकी श्रीमती काजल पनि डकैतीमा संलग्न रहेको जनाइएको छ। केही आरोपितहरूले आफ्नो पहिचान लुकाउन झुटो नाम प्रयोग गरेको आशंका गरिएको छ।
हालै हैदराबादको जुब्ली हिल्स क्षेत्रमा भएको ठूलो चोरीमा उनीहरूले घरधनीका सुनचाँदीका गहना र महँगा घडीहरू लुटेको आरोप छ।
घटनापछि यी पाँचै जना चार दिनदेखि फरार रहेका छन्। यस सम्बन्धमा हैदराबादमा एफआईआर दर्ता भइसकेको छ भने स्थानीय प्रहरीले महाराष्ट्र, उत्तर प्रदेश र नेपाल प्रहरीसँग समन्वय गर्दै खोजी तथा अनुसन्धान तीव्र बनाएको छ।
भारतीय प्रहरीले आरोपितबारे जानकारी दिने व्यक्तिलाई पुरस्कार प्रदान गरिने जनाएको छ।