प्रचण्ड–माधवलाई तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्न युवा नेताहरूको सुझाव
काठमाडौँः नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई चाँडै तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गरेर बिदा हुन युवा नेताहरूले सुझाव दिएका छन्।
केन्द्रीय कार्यालय पेरिसडाँडामा जनसंगठनका इन्चार्ज र पदाधिकारीहरूसँग भएको छलफलमा सहभागी युवा नेताहरूले अबको राजनीतिक प्रतिस्पर्धा तेस्रो पुस्ताले मात्र गर्न सक्ने भएकाले नेतृत्व परिवर्तन आवश्यक रहेको धारणा राखे।
बैठकमा महिला, विद्यार्थी, युवा, किसानलगायत जनसंगठनका इन्चार्ज तथा पदाधिकारीहरू सहभागी थिए। वाइसिएल अध्यक्ष पुष्प ओली र अखिल क्रान्तिकारीका उपाध्यक्ष बिराज थापासहितका नेताहरूले शीर्ष नेतृत्वको योगदानको सम्मान गर्दै अब जिम्मेवारी नयाँ पुस्तालाई दिनुपर्ने बताए।
केही सहभागीहरूले प्रचण्डलाई पार्टीको सीमित नेतृत्वमा नभई राष्ट्रको अभिभावकको भूमिकामा रहनुपर्ने सुझावसमेत दिएका छन्। त्यस्तै, चौथो पार्टीको संसदीय दलको नेतृत्व पनि युवालाई दिनुपर्ने प्रस्ताव बैठकमा उठेको बताइएको छ।
सल्यानबाट निर्वाचित रमेश मल्ल, रुकुम पश्चिमका गोपाल शर्मा र सिन्धुपाल्चोकका युवराज दुलालमध्येबाट दलको नेतृत्व, उपनेता र प्रमुख सचेतक चयन गर्नुपर्ने सुझाव पनि आएको छ।
एक सहभागी नेताका अनुसार बैठकमा छिट्टै महाधिवेशन गरेर तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा अधिकांशको जोड थियो। साथै, चुनावी नतिजाको जिम्मेवारी लिएर शीर्ष नेतृत्वले राजीनामा दिनुपर्ने आवाज पनि उठेको बताइएको छ।
बैठकमा पार्टीको केन्द्रीय समिति सानो र प्रभावकारी बनाउनुपर्ने तथा चुनावमा सक्रिय भूमिका नखेलेका सदस्यहरूलाई पुनर्विचार गरेर अघि बढ्नुपर्ने सुझाव पनि प्रस्तुत गरिएको छ।