सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्जुननरसिंह केसीको काँग्रेस संसदीय दलको नेतामा दाबी

२०८२ चैत्र ६, ०२:५७ खबर संवाददाता

काठमाडौँः नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन्।

केन्द्रीय कार्यसमिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू सिनियर नेता भएकाले दलको नेताका लागि दाबी गर्नु स्वाभाविक भएको उल्लेख गरे। उनले भने, ‘म सबभन्दा सिनियर पनि हुँ। संसदीय अभ्यास र यात्रामा मैले धेरै ठूलो योगदान गरेको छु।’

उनले २०४७ सालपछि काँग्रेसको संसदीय भूमिका सुदृढ बनाउन आफूले योगदान दिएको दाबी गर्दै आफ्नो योगदानलाई बेवास्ता गरिएकोप्रति असन्तुष्टि जनाए। साथै, आफूलाई गगन थापाको ससुरा भनेर मात्र परिचित गराउने प्रवृत्तिप्रति आपत्ति जनाए।

केसीले आफ्नो राजनीतिक यात्रा लामो र संघर्षपूर्ण रहेको उल्लेख गर्दै जेल जीवन समेत बिताएको बताए। उनले गगन थापा आफ्नै क्षमता र व्यक्तित्वका आधारमा उदाएका नेता भएको भन्दै आफ्नो योगदान अलग रहेको स्पष्ट पारे।

त्यसैगरी, उनले पार्टीभित्र एकता आवश्यक रहेकोमा जोड दिँदै सभापति गगन थापाले दिएको राजीनामाबारे केन्द्रीय कार्यसमितिको निर्णय पर्खिनुपर्ने बताए। काँग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्नु अहिलेको आवश्यकता भएको उनको भनाइ थियो।

कमेन्ट लोड गर्नुस