चैत १३ मा नयाँ प्रधानमन्त्रीको शपथ, बालेन्द्र शाह नेतृत्वमा सरकार गठन हुने
काठमाडौँः नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम चैत १३ गतेका लागि तय भएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेपछि सरकार गठनको प्रक्रिया अघि बढाइएको हो।
निर्वाचनअघि नै रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो। सोही अनुसार अब शाहकै नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित भएको छ।
सरकार गठनसम्बन्धी छलफल राजधानीस्थित रोयल सिंगि होटलमा सम्पन्न भएको थियो। उक्त छलफलपछि सांसदहरूको शपथ लगत्तै प्रधानमन्त्रीको शपथ गराउने निर्णय गरिएको हो।
रास्वपाका एक शीर्ष नेताका अनुसार आउँदो चैत १३ गते प्रधानमन्त्रीले शपथ ग्रहण गर्ने छन्।
संघीय संसद सचिवालयले चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम तय गरेको छ। त्यसको भोलिपल्ट प्रधानमन्त्रीको शपथ गराउँदै सरकार गठन प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइनेछ।