सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपाद्वारा सरकार गठन तयारी तीव्र, मन्त्रालय घटाउने योजना

२०८२ चैत्र ६, १२:३७ खबर संवाददाता

काठमाडौँः फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई–तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठनको तयारीलाई तीव्र बनाएको छ। चुनावअघि सार्वजनिक गरिएको वाचा पत्रअनुसार मन्त्रालय संख्या घटाउने विषयमा पार्टीभित्र गम्भीर छलफल भइरहेको छ।

पार्टी स्रोतका अनुसार मन्त्रालय संख्या १५ देखि १८ वटामा सीमित गर्ने तयारी भइरहेको छ। साथै, को–को मन्त्री बन्ने भन्नेबारे पनि आन्तरिक गृहकार्य जारी छ। उपसभापतिद्वय डिपी अर्याललाई गृहमन्त्री र स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने गरी छलफल अघि बढाइएको बताइएको छ।

त्यसैगरी महामन्त्री सुनिल लम्साल, प्रवक्ता मनिष झा, तथा सांसदहरू शिशिर खनाल, सोबिता गौतम, राजुनाथ पाण्डे र सस्मित पोखरेललाई पनि मन्त्री बनाउने विषयमा छलफल भइरहेको छ। शिशिर खनाललाई परराष्ट्र र सोबिता गौतमलाई कानुन मन्त्रालय दिने प्रस्तावसमेत चर्चामा रहेको छ।

सभामुख पद युवालाई दिने पार्टीको योजना अनुसार उपयुक्त व्यक्तिको खोजी भइरहेको जनाइएको छ, तर यसबारे अन्तिम निर्णय भने भइसकेको छैन।

सरकार गठनसँगै प्रधानमन्त्रीको शपथ समारोहलाई विशेष बनाउने तयारी पनि गरिएको छ। सो अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षहरूलाई निमन्त्रणा दिने विषयमा छलफल भइरहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन्।

चैत १२ गते नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने र त्यसको भोलिपल्ट रास्वपाका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम तय गरिएको छ।

कमेन्ट लोड गर्नुस