सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमजोर सुदूरपश्चिम सरकारः आठ महिनामा विकास खर्च १० प्रतिशत पनि पुगेन

२०८२ चैत्र ४, १०:२५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ को आठ महिनासम्म पुँजीगत (विकास) बजेटको १० प्रतिशत हिस्सा पनि खर्च गर्न सकेको छैन। कुल १९ अर्ब ८२ करोड २३ लाख ५६ हजार रुपैयाँको पुँजीगत बजेटमध्ये फागुन मसान्तसम्म जम्मा ९.९९ प्रतिशत मात्रै खर्च भएको हो।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार यस अवधिमा एक अर्ब ९७ करोड ९७ लाख १० हजार ५०९ रुपैयाँ मात्र खर्च भएको छ। अझै १७ अर्ब ८४ करोड २६ लाख ४५ हजार ४९१ रुपैयाँ खर्च हुन बाँकी रहँदा आर्थिक वर्ष सकिन चार महिना मात्र बाँकी छ।

अघिल्ला वर्षहरूको तुलनामा पनि यो वर्षको खर्च अवस्था कमजोर देखिएको छ। गत आर्थिक वर्ष २०८१–०८२ मा छ महिनामै १० प्रतिशत र २०८०–०८१ मा १२ प्रतिशत पुँजीगत बजेट खर्च भएको थियो।

सबैभन्दा धेरै बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले १४ अर्ब ७१ करोड ६३ लाख २३ हजार रुपैयाँमध्ये ११.२१ प्रतिशत मात्र खर्च गर्न सकेको छ।

विकास बजेट खर्च कम हुनुका कारणमा टुक्रे आयोजनालाई एउटै शीर्षकमा राखेर बजेट विनियोजन गर्नु, खर्च कटौती गर्ने निर्णय, साना आयोजनाको कार्यान्वयनमा अनिश्चितता जस्ता समस्याहरू रहेका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले खर्च बढाउन कार्ययोजना बनाउन निर्देशन दिए पनि मन्त्रालयहरूले अहिलेसम्म पेश गरेका छैनन्।

यता, चालुतर्फ भने २७.१७ प्रतिशत खर्च भएको छ। १३ अर्ब ६० करोडभन्दा बढी चालु बजेटमध्ये तलबभत्ता जस्ता क्षेत्रमा खर्च भए पनि कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र उद्योग क्षेत्रमा अपेक्षाअनुसार खर्च हुन सकेको छैन।

सामाजिक विकास मन्त्रालयले सबैभन्दा बढी ३६.७३ प्रतिशत चालु बजेट खर्च गरेको छ भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १३.१९ प्रतिशत मात्रै खर्च गरेको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको अवस्था झनै कमजोर देखिएको छ, जहाँ चालुतर्फ ३९.३९ प्रतिशत र पुँजीगततर्फ केवल ३.०३ प्रतिशत खर्च भएको छ।

कमेन्ट लोड गर्नुस