सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोरखामा मनकामनाबाट फर्कदै गरेको माइक्रोबस दुर्घटना: सात भारतीय नागरिकको मृत्यु

२०८२ चैत्र १, ०९:१५ खबर संवाददाता

गोरखा: मनकामना मन्दिरको दर्शन गरी फर्कदै गरेको विद्युतीय (ईभी) माइक्रोबस शनिबार राति करिब ८ बजे गोरखाको शहीदलखन गाउँपालिका–३, कनटारमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। मृत्यु भएका सबै व्यक्ति भारतीय नागरिक भएको पुष्टि भएको छ।

बागमती प्रदेश ०६–०६ ख ८४३० नम्बरको उक्त माइक्रोबस सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। यस बसमा चालकसहित जम्मा १५ जना सवार थिए।

दुर्घटनामा घटनास्थलमै सात जनाको मृत्यु भएको छ भने बाँकी आठ जनालाई उद्धार गरी अस्पताल पठाइएको छ। घाइतेमध्ये सात जनाको उपचार तनहुँको आँबुखैरेनी अस्पतालमा भइरहेको छ। एक घाइतेको अवस्था गम्भीर भएकाले थप उपचारका लागि चितवनको भरतपुर रेफर गरिएको छ। बाँकी घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार कार्यमा खटिएका थिए। प्रारम्भिक अनुसन्धानले ओरालो बाटोमा गुडिरहेको ईभी गाडीको ब्रेक तातेर फेल भएकाले दुर्घटना भएको हुन सक्ने संकेत दिएको छ।
 

कमेन्ट लोड गर्नुस