बाजुराबाट दुई हजार ४२६ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने
बाजुराः बाजुराबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा दुई हजार ४२६ जना विद्यार्थी सहभागी हुने भएका छन्।
परीक्षाका लागि आवश्यक हाजिरी पु¥याएका नियमिततर्फका दुई हजार ४२६ विद्यार्थी एसइईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ बाजुराले जनाएको छ। परीक्षामा सहभागी हुन विद्यालय सञ्चालन भएको दिनको कम्तीमा ७५ प्रतिशत हाजिरी हुनुपर्ने व्यवस्था रहेको जनाइएको छ।
शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका सूचना अधिकारी लालबहादुर विष्टका अनुसार यस वर्षको एसइई परीक्षा चैत १७ गतेदेखि सुरु भई चैत २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरिसकेको उनले बताए।
उनका अनुसार कुल परीक्षार्थीको सङ्ख्या तय भए पनि कति छात्रा र कति छात्र सहभागी हुने भन्ने विवरण भने अझै छुट्याइएको छैन। एसइई परीक्षाका लागि जिल्लामा १७ वटा परीक्षा केन्द्र तोकिएका छन्। केही दिनभित्रै केन्द्राध्यक्ष चयन गरी गत वर्षझैँ यस वर्ष पनि परीक्षालाई स्वच्छ र सभ्य रूपमा सञ्चालन गर्ने तयारी भइरहेको सूचना अधिकारी विष्टले जानकारी दिए। जिल्लाका केही विद्यालयमा प्राविधिक शिक्षासमेत सञ्चालन हुँदै आएको छ। भानोदय माध्यमिक विद्यालयमा पशु विज्ञान तथा दशरथ र कीर्तिचौर माध्यमिक विद्यालयमा बाली विज्ञान विषयको पठनपाठन भइरहेको छ। कृषि क्षेत्रमा परिवर्तन ल्याउने उद्देश्यले ती विद्यालयमा पछिल्लो समय कक्षा ९ र १० मा प्राविधिक कक्षा सञ्चालन गरिएको हो।
गत वर्षको नतिजा हेर्दा बाजुरामा एसइई परीक्षामा सुधार देखिएको छ। २०८१ सालको एसइई परीक्षामा चार जीपीए ल्याउने विद्यार्थी नभए पनि ३.६ देखि ४.० भन्दा कम जीपीए ल्याउने ३८ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने २६२ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ५३२ जना, २.४ देखि २.८ जीपीए ल्याउने ३५१ जना र २.० देखि २.४ भन्दा कम जीपीए ल्याउने १६ जना रहेका थिए। २०८१ सालको एसइई परीक्षामा दुई हजार २१६ जना सहभागी भएकामध्ये एक हजार १९९ जना उत्तीर्ण भएका थिए। त्यस्तै २०८० सालमा दुई हजार ८३४ जना विद्यार्थी एसइईमा सहभागी भएकामध्ये एक हजार पाँच जना मात्र उत्तीर्ण भएका थिए।
२०८० सालको एसइई परीक्षामा चार जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या शून्य थियो। ३.६ देखि ४.० भन्दा कम जीपीए ल्याउने आठ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ८४ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ४०४ जना, २.४ देखि २.८ जीपीए ल्याउने ४६५ जना र २.० देखि २.४ भन्दा कम जीपीए ल्याउने ४४ जना रहेका थिए। २०८० सालमा उत्तीर्ण दर करिब ४५ प्रतिशत रहेकोमा २०८१ सालमा ग्रेड प्राप्त गर्ने विद्यार्थीको प्रतिशत ५१.७२ पुगेको थियो। यसले २०८० को तुलनामा २०८१ सालमा बाजुराको एसइई नतिजा सन्तोषजनक रूपमा सुधार भएको देखिएको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका सूचना अधिकारी विष्टले बताए। (गोरखापत्रबाट)