सुदूर नेपाललाई विश्वसँग जोड्दै

ललितपुरमा रातो मछिन्द्रनाथको रथका नयाँ पाङ्ग्रा निर्माण अन्तिम चरणमा

२०८२ फाल्गुन २८, ०२:०२ खबर संवाददाता

ललितपुर: ललितपुरको ऐतिहासिक तथा प्रसिद्ध रातो मछिन्द्रनाथ जात्रा का लागि प्रयोग हुने रातो मछिन्द्रनाथ को रथका पाङ्ग्रा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

ललितपुर मा सञ्चालन हुने यस ऐतिहासिक जात्राका लागि आवश्यक रथको दुईवटा पाङ्ग्रा जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण जलेर क्षतिग्रस्त भएपछि नयाँ पाङ्ग्रा निर्माण गरिएको हो। रथ निर्माण समूहका नाइके दिलकुमार बाराही का अनुसार परम्पराअनुसार रातो मछिन्द्रनाथको रथका पाङ्ग्रा प्रत्येक १२ वर्षमा एक पटक मात्र बनाइने चलन भए पनि आगामी वर्ष हुने जात्राका लागि प्रयोग योग्य पाङ्ग्रा नभएपछि यसपटक समयअघि नै निर्माण सुरु गरिएको हो।

उनले श्री पञ्चमी को दिन विधिवत पूजा गरेर पाङ्ग्रा बनाउने काम सुरु गरिएको बताए। अहिले निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र आउने शनिबारसम्ममा पाङ्ग्रा पूर्ण रूपमा तयार भइसक्ने अपेक्षा गरिएको छ।

यस वर्षको रातो मछिन्द्रनाथ जात्राअन्तर्गत २०८२ साल वैशाख ५ गते रथारोहण गरिनेछ भने वैशाख ८ गतेबाट रथयात्रा औपचारिक रूपमा सुरु हुनेछ। ललितपुरमा मनाइने यो जात्रा उपत्यकाको सबैभन्दा लामो तथा महत्वपूर्ण धार्मिक–सांस्कृतिक उत्सवमध्ये एक मानिन्छ।
 

कमेन्ट लोड गर्नुस