कञ्चनपुरमा ४४ उम्मेदवारकाे जनाको जमानत जफत
धनगढीः फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका ४४ उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका ५५ जनामध्ये ४४ उम्मेदवारले कुल खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा धरौटी फिर्ता नपाउने भएका हुन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट १९ उम्मेदवारले प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । सो निर्वाचन क्षेत्रबाट खसेको ६० हजार ५८७ मतमध्ये ५७ हजार ५१ मत सदर भएको थियो । सो निर्वाचन क्षेत्रबाट खसेको ६० हजार ५८७ मतमध्ये ५७ हजार ५१ मत सदर भएको थियो । सदर मतमध्ये चार उम्मेदवारले मात्रै १० प्रतिशत मत कटाएका छन् भने १५जनाको जमानत जफत भएको छ ।
निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा जम्मा गरेको १० हजार रुपियाँ जफत गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले बताए ।
निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बनेका १९ मध्ये १५ उम्मेदवारको धरौटी जफत भएको छ । आवश्यक मत नपुगेकाको जमानत जफत गरिएको निर्वाचन कार्यालयले बताएको छ । निर्वाचन क्षेत्र नम्बर ३ का १७ उम्मेदवारमध्ये १४ जनाको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्र्यालयले जनाएको छ ।
क्षेत्र नम्बर ३ मा सदर मत ५३ हजार ५४६ को १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी जफत गरिएको निर्वाचन कार्यालयका प्रमुख जोशीले बताउनुभयो । कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ एक लाख ८४ हजार ३४१ मत खसेकामा एक लाख ७१ हजार ७१४ मत सदर भएको थियो ।