सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा समानुपातिकतर्फ पनि रास्वपा सबैभन्दा बढी मत

२०८२ फाल्गुन २७, १२:५० खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशमा यसपटक मतदाताले नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई स्पष्ट रूपमा पहिलो रोजाइ बनाएका छन्। प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेको रास्वपाले समानुपातिक मतमा पनि अग्रता कायम गरेको छ।

समानुपातिक मतको तथ्यांकअनुसार रास्वपाले ३ लाख १७ हजार ८३६ मत प्राप्त गर्दै प्रदेशकै सबैभन्दा ठूलो शक्ति बनेको छ। नेपाली कांग्रेस १ लाख ८२ हजार ८४२ मतसहित दोस्रो स्थानमा छ भने नेकपा एमाले १ लाख ४७ हजार ९०९ मतसहित तेस्रो स्थानमा सीमित भएको छ। नेपाली कम्युनिष्ट पार्टी चौथो तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचौँ स्थानमा छन्। अन्य दलहरू भने धेरै पछाडि परेका छन्।

मतपरिणामको विश्लेषण गर्दा दुर्गम पहाडी र हिमाली जिल्लाहरूमा भने अझै पनि कांग्रेस र एमालेको प्रभाव कायम रहेको देखिन्छ। बाजुरा, अछाम–१, अछाम–२ र डोटीमा नेपाली कांग्रेसले सर्वाधिक मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। यस्तै बझाङ र दार्चुलामा नेकपा एमाले पहिलो पार्टी बनेको छ। यी जिल्लाहरूमा रास्वपा तेस्रो वा चौथो स्थानमा सीमित भएको छ। यद्यपि, डोटीमा कांग्रेस र रास्वपाबीच निकै कडा प्रतिस्पर्धा देखिएको छ, जहाँ मतान्तर केवल ३९ मात्र रहेको छ।

कैलाली र कञ्चनपुरमा भने रास्वपाले पूर्ण रूपमा वर्चस्व स्थापित गरेको छ। कञ्चनपुरका तीनवटै क्षेत्र र कैलालीका पाँचवटै क्षेत्रमा रास्वपाले अन्य ठूला दलहरूलाई दोब्बरभन्दा बढी मतान्तरले पछाडि पार्दै क्लिन स्वीप गरेको छ।

नेपाली कांग्रेसको बलियो गढ मानिने डडेल्धुरा र एमालेको प्रभाव क्षेत्र मानिने बैतडीमा पनि रास्वपाले भारी मतसहित पहिलो स्थान ओगटेको छ। अघिल्ला निर्वाचनमा निर्णायक मानिने नेकपा भने अधिकांश क्षेत्रमा तेस्रो वा चौथो स्थानमा झरेको देखिन्छ।

त्यस्तै कैलालीमा बलियो मानिने नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धनले कैलाली–१, २ र ३ मा केही सन्तोषजनक मत पाए पनि अन्य क्षेत्रमा प्रभाव जमाउन सकेको छैन। राप्रपाले भने हरेक क्षेत्रमा आफ्नो उपस्थिति कायम राखेको छ।
 

कमेन्ट लोड गर्नुस