कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ
कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिका–६ “ङ” गाउँबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले मंगलबार दिउँसो जिल्ला कैलाली धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार बस्ने ४३ वर्षीय हर्कबहादुर खड्का र कैलालीकै जानकी गाउँपालिका–७ पठरैया बस्ने ३० वर्षीया मिना राजीलाई पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको से ६ प ६९९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरेको थियो। जाँचका क्रममा उनीहरूको साथबाट ६५० मिलिग्राम लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ तथा एक डिब्बा कोरेक्स बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गरिएको लागूऔषध र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।