गोरखा १ बाट रास्वपाका सुदन गुरुङ निर्वाचित
गोरखा : गोरखा १ बाट सुदन गुरुङ निर्वाचित भएका छन् । निर्वाचन आयोगको मतपरिणामअनुसार रास्वपाका उम्मेदवार गुरुङले २९ हजार ८९६ मत प्राप्त गरेका छन् ।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीभन्दा झन्डै दोब्बर मत ल्याएर गुरुङ निर्वाचित भएका हुन् । खत्रीले १५ हजार ३९८ मत ल्याएका छन् । खत्रीभन्दा गुरुङले १४ हजार ४९८ बढी मत प्राप्त गरेका छन् ।
नेकपाका उम्मेदवार हरिराज अधिकारीले ११ हजार १२४ र एमालेका रामचन्द्र लामिछानेले तीन हजार ७३२ मत प्राप्त गरेका छन् ।
यससँगै गोरखाका दुवै निर्वाचन क्षेत्रमा रास्वपाले जितेको छ । क्षेत्र नम्बर २ मा आइतबार नै रास्वपाका महामन्त्रीसमेत रहेका कवीन्द्र बुर्लाकोटी फराकिलो मतान्तरसहित विजयी भइसकेका छन् ।