झापामा रास्वपाको ’क्लिनस्वीप’, पुराना नेताको विरासत तोडियो
दमकः बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले झापाका पाँचै निर्वाचन क्षेत्रमा विजयी भई पुराना र लामो राजनीतिक विरासत भएका शीर्ष नेताहरूलाई ठुलो मतान्तरले पराजित गरेका छन्। झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ६८ हजार ३४८ मतसहित विजयी भएका छन्।
उनका निकटतम प्रतिस्पर्धी, नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका थिए। यस निर्वाचन क्षेत्रको परिणामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विशेष चासोका साथ हेरिएको थियो।
झापा–३ मा रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मतसहित विजयी भए। उनले राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनलाई १७ हजार २९४ मतको अन्तरले पराजित गरे। झापा–२ मा रास्वपाकी इन्दिरा राना मगर ६० हजार ११० मतसहित विजयी भइन्।
उनका निकटतम प्रतिद्वन्द्वी, नेकपा (एमाले) का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरे। घिमिरे आफैं उपस्थित भई निर्वाचन अधिकृतको कार्यालयमा मगरलाई फुलमाला लगाएर विजयको शुभकामना दिएका थिए। झापा–१ मा रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरे।
डाँगी यसअघि रास्वपाको तर्फबाट समानुपातिक प्रतिनिधि सभा सदस्य रहेकी थिइन्। झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका लालप्रसाद साँवा लिम्बूले ११ हजार ९१६ मत प्राप्त गरे। साँवा यसअघि यस क्षेत्रमा लगातार दुई पटक निर्वाचित भइसकेका थिए। ढकाल यसअघि यहाँ पराजित भइसकेका थिए। रास्वपाले झापाका पाँचै क्षेत्रलाई जित्दै पुराना राजनीतिक दल र शीर्ष नेताहरूको लामो राजनीतिक विरासतलाई तोडेको छ।