सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश सरकारद्वारा गौरा पर्वमा सार्वजनिक बिदा दिने निर्णय

२०७६ भदौ ३, ०६:४७ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वको अवसरमा भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका ९ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाउँदै गौरा पर्वको अवसरमा ६ गते सार्वजनिक विदा दिएको जनाएको छ। यसअघि प्रदेश मन्त्रीपरिषद्को बैठकले गौरामा भने विदाको निर्णय गरेको थिएन्। 

मन्त्रीपरिषद् बैठकबाट निर्णय गर्दै साउन ३० गते पर्ने रक्षा बन्धन, भाद्र १५ गते परेको अँटवारी पर्व, पौष १० गते परेको भुँवा पर्व र माघ १ गते परेको माघे संक्रान्तिका दिन सार्वजनिक विदा दिएपनि प्रदेश सरकारले सुदूरपश्चिमको मौलिक सस्कृतीसंग जोडिएको गौरालाई सम्वोधन नगरेको भन्दै विरोध समेत भएको थियो। 

यद्यपी संघीय सरकारले भने भदौ ६ गते एक दिन गौरा पर्वका लागि विदा दिने निर्णय यसअघि नै गरिसकेको थियो। माघिका दिन संघीय सरकारले विदा दिएर पनि प्रदेश सरकारले समेत फेरी विदाको निर्णय गरेकोमा गौरा पर्वमा प्रदेश सरकारको निर्णय नआएको भन्दै विरोध भईरहेको थियो। 

गौरा सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो। गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ’बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन्।

गौरापर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ। बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन्।

धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्।

अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत र्पुयाउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ।

 

कमेन्ट लोड गर्नुस