सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा १० वर्षअघि मृत्यु भएका व्यक्तिको नाम अझै मतदाता नामावलीमा !

२०८२ फाल्गुन २०, ०२:५० खबर संवाददाता

बझाङः बझाङको थलारा गाउँपालिका–६ पिखेतका पदे रोकायाको २०७१ सालमा मृत्यु भएको भए पनि उनको नाम यसपटकको मतदाता नामावलीमा समावेश भएको पाइएको छ। उनि जस्तै पिखेतकै हर्कु रोकायाको पनि करिब सात–आठ वर्षअघि नै मृत्यु भइसकेको हो।

यसपटक सार्वजनिक गरिएको मतदाता नामावलीमा मृत्यु भइसकेका धेरै व्यक्तिहरूको नाम समावेश भएको देखिएको छ। थलारा गाउँपालिका–६ का नेपाली कांग्रेसका वडा सभापति किशोर रोकायाले भने, “मेरो बुवा पदे रोकाया हुनुहुन्थ्यो, उहाँको मृत्यु भएको करिब १० वर्ष भयो। तर अहिले पनि मतदाता नामावलीमा उहाँको नाम देख्दा अचम्म लागेको छ।”

उनले निर्वाचन आयोगले मृत्यु भएका व्यक्तिहरूको नाम हटाउने स्पष्ट र प्रभावकारी प्रक्रिया नबनाउँदा राज्य व्यवस्थाप्रति नै चिन्ता व्यक्त गरे। “वडामा सामाजिक सुरक्षा भत्ता भने मृत्यु भएकै वर्ष हटाइयो, तर मतदाता नामावलीबाट हालसम्म नाम नहटाइनु गम्भीर विषय हो। देशभर यस्ता कति नाम छन् होला?” उनले प्रश्न गरे। 

मतदान केन्द्रमा मृत्यु भएका व्यक्तिको नामबाट फर्जी मत हाल्ने प्रयास हुँदा विवाद र झगडा हुने गरेको स्थानीयले बताएका छन्। यस्तै, मृत्यु भएका वा बाहिर रहेका व्यक्तिको नाम दुरुपयोग गरी बुथ कब्जा गर्ने प्रयाससमेत हुने गरेको गुनासो छ।

निर्वाचन कार्यालयका निर्वाचन अधिकारी बसन्त धानुकले पनि मृत्यु भएका व्यक्तिको नाम मतदाता नामावलीमा रहेको विषयमा धेरै गुनासो आएको स्वीकार गरे। उनले सो समस्या समाधानका लागि आगामी दिनमा निर्वाचन आयोग र पञ्जीकरण विभागबीच सहकार्य गरी सफ्टवेयर प्रणाली विकास गरेर नाम अद्यावधिक गर्नुपर्ने सुझाव दिए। 

तस्बीरमा मतदाता नामावलीमा नाम रहेका थलारा–६ पिखेतका स्वर्गीय पदे रोकाया र हर्कु रोकाया ।

 

कमेन्ट लोड गर्नुस