चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
कञ्चनपुरः जीर्ण अवस्थामा पुगेको रामजानकी मन्दिर पुनः मर्मत तथा रङरोगनपछि आकर्षक बनेको छ। शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित मन्दिर श्रद्धालुहरूको चन्दा सहयोगमा पुनर्निर्माण गरिएको हो।
पुरानो पर्खाल भत्काएर नयाँ निर्माण गरी स्टिल रेलिङ जडान गरिएको छ भने मुख्य गेटलाई नयाँ डिजाइनमा पुनर्निर्माण गरिएको छ। मुख्य गेटदेखि मन्दिरसम्मको बाटो ढलान गरी भक्तजनको आवागमन सहज बनाइएको छ। रामजानकी धाम तथा पर्यटकीय विकास समितिका अध्यक्ष प्रकाशसिंह ऐरका अनुसार मन्दिरको सौन्दर्य बढाउन परिसरभर हरियाली र रङ्गीन फूलसहितको बगैँचा निर्माण गरिएको छ। भक्तजन बस्नका लागि चौतारोसमेत बनाइएको छ। उनका अनुसार स्वदेश तथा विदेशमा रहेका भक्तजनको सहयोगले यो काम सम्भव भएको हो।
करिब पाँच दशकअघि स्थानीयवासीले चन्दा सङ्कलन गरेर निर्माण गरेको मन्दिर पछिल्ला वर्षहरूमा जीर्ण बनेको थियो। छतको प्लास्टर उप्किनुका साथै छाना चुहिने समस्या देखिएको थियो। अहिले ती सबै समस्या समाधान गरी मन्दिरलाई पुरानै स्वरूपमा फर्काइएको समितिले जनाएको छ।
मन्दिर जीर्णोद्धारका लागि श्रीकृष्ण सामुदायिक वन ले रु पाँच लाख सहयोग गरेको छ। स्वदेश तथा विदेशमा रहेका चन्दादाताबाट सङ्कलित रु दुई लाखभन्दा बढी रकम पनि मर्मतमा खर्च गरिएको छ। साथै, मन्दिरमा विवाह गर्ने जोडीबाट लिइने शुल्कबापत सङ्कलित रु ४५ हजारसमेत पुनर्निर्माणमा प्रयोग गरिएको अध्यक्ष ऐरले जानकारी दिए। यसअघि संसदीय विकास कोषमार्फत रु १० लाखमा यज्ञशाला र शौचालय निर्माण गरिएको थियो।
मन्दिर परिसरमा १०८ शिवलिङ्गसहितको चक्रव्यूह, रामजानकीको मुख्य मन्दिर, यज्ञशाला, विवाहमण्डप, गोरखनाथ तथा शिवपार्वती मन्दिर रहेका छन्। यहाँ विवाह, व्रतबन्ध, पूजाआजा, रामनवमी लगायतका धार्मिक कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएका छन्। रामनवमीमा यहाँ भक्तजनको ठूलो घुइँचो लाग्ने गर्दछ।
अध्यक्ष ऐरका अनुसार केही सामग्री उधारोमा खरिद गरिएकाले बाँकी ऋण तिर्न ‘मुठ्ठीदान’ अभियान सञ्चालन गर्ने तयारी गरिएको छ। अभियानबाट बचत हुने रकम विद्युत् वायरिङ र अन्य संरचना सुधारमा खर्च गर्ने योजना रहेको छ।
स्थानीय समाजसेवी चन्द्रबहादुर ऐरका अनुसार मन्दिरको सुधारपछि परिसर अत्यन्त आकर्षक बनेको छ। फूलबारी, नयाँ रेलिङ र उज्यालो बत्तीले मन्दिरको सौन्दर्य थपिएको उनले बताए। मन्दिर क्षेत्रको जग्गा संरक्षणका लागि पर्खाल निर्माण आवश्यक रहेको उल्लेख गर्दै उनले स्थानीय, प्रदेश र सङ्घीय सरकारले धार्मिक सम्पदाको संरक्षणमा चासो दिनुपर्ने बताए।
पुनर्निर्माणसँगै कलुवापुर क्षेत्र धार्मिक, सांस्कृतिक तथा पर्यटकीय रूपमा थप आकर्षणको केन्द्र बन्दै गएको छ। साँझपख झिलिमिली बत्ती र फूलबारीले सजिएको मन्दिर परिसर अहिले भक्तजनसँगै आन्तरिक पर्यटकका लागि पनि लोभलाग्दो गन्तव्य बनेको छ।