सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपचारका कारण मतदानमा सहभागी नहुने सम्भावना: शेरबहादुर देउवा सिंगापुरमै

२०८२ फाल्गुन १९, ११:३६ खबर संवाददाता

धनगढी: नेपाली काँग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले बिहीबार हुने आमनिर्वाचनमा मतदान गर्न नपाउने अवस्था देखिएको छ।

उपचारका लागि गत बुधबार सिंगापुर गएका देउवा भोलि स्वदेश फर्कने कार्यक्रम रहे पनि चिकित्सकले यही साता पुनः फलोअपका लागि मिति तोकेकाले तत्काल नेपाल फर्कन नसक्ने पारिवारिक स्रोतलाई उद्धृत गर्दै काँग्रेसका एक नेताले जानकारी दिएका छन्।

स्रोतका अनुसार चिकित्सकले साताको अन्त्यतिर पुनः जाँचका लागि बोलाएकाले उहाँ भोलिसम्म काठमाडौँ आइपुग्ने सम्भावना न्यून रहेको छ। यदि समयमै फर्कन नसकेमा बुधबार काठमाडौं हुँदै धनगढी र त्यहाँबाट डडेल्धुरा पुगेर मतदान गर्नुपर्ने हुन्थ्यो। तर बिहीबार नै मतदान हुने भएकाले यस्तो यात्रा व्यवहारिक नदेखिएको जनाइएको छ। देउवा बुधबार राति उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए। उनीसँगै उनका निजी सचिव भानु देउवा पनि रहेका छन्।

निर्वाचनका लागि देउवा र उनकी पत्नी आरजु राणा देउवाको मतदान केन्द्र गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम माध्यमिक विद्यालयमा तोकिएको छ। २०७९ सालको निर्वाचनमा देउवाले हेलिकोप्टरमार्फत रुवाखोला पुगेर सोही केन्द्रबाट मतदान गरेका थिए।

डडेल्धुराबाट २०४८ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका देउवा यसपटक भने उम्मेदवार छैनन्।

कमेन्ट लोड गर्नुस