सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली-५ का स्वतन्त्र उम्मेदवार विष्ट रास्वपा प्रवेश

२०८२ फाल्गुन १८, ०२:०० खबर संवाददाता

धनगढीः कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका इश्वरी विष्टले आफ्नो उम्मेदवारी निष्कृय पारेका छन्। विष्ट उम्मेदवारी निष्कृय पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका छन्। २०७९ को निर्वाचनमा रास्वपाबाट कैलाली-५ मा उम्मेदवार रहेका विष्ट रास्वपा धनगढीको संस्थापक नग सभापति पनि हुन्।

सोमवार धनगढीको रास्वपा सचिवालयमा भएको कार्यक्रममा विष्टलाई रास्वपा सुदूरपश्चिमकी सह-महामन्त्री करिष्मा कठरियाले पार्टी माला र खादा लगाउँदै पार्टीमा पुनः स्वागत गरेकी हुन्। विष्टलाई रास्वपा उम्मेदवार आनन्दबहमदुर चन्दसहितका नेताहरूले पनि स्वागत गरेका छन्।

विष्टले देश परिवर्तनको संघारमा उभिएकाले व्यक्तिगत चाहना भन्दा माथि उठेर रास्वपामा उम्मेदवार चन्दलाई समर्थन गरेको बताए। उनले सुशासन र पारदर्शिताका लागि परिवर्तनको पक्षमा सबैले उभिनु पर्ने बताए। 'मैलै व्यक्तिगत चाहना भन्दा माथि उठेर रास्वपालाई समर्थन गरेको हुँ। सुशासन र पारदर्शिताका लागि परिवर्तनको पक्षमा उभिन कैलाली-५ मा मतदातामा अनुरोध गर्दछु,' विष्टले भने।

विष्टलाई पार्टीमा स्वागत गर्दै समानुपातिक उम्मेदवारसमेत रहेकी रास्वपा प्रदेश सह-महामन्त्री करिष्मा कठरियाले स्वतन्त्र उम्मेदवारी दिएका विष्टले उम्मेदवारी निष्कृय पारेर रास्वपामै फर्किनुलाई शुभ संकेतका रुपमा लिएको बताइन्। उनले रास्वपाले कैलालीका पाँच वटै क्षेत्रमा चुनाव जित्ने दाबी गरेकी छन्।

यस्तै आफ्नै घरमा फर्किएको भन्दै विष्टलाई रास्वपा उम्मेदवार चन्दले स्वागत गरेका छन्। पार्टीको एजेन्डालाई समर्थन गर्दै विष्ट रास्वपामा समाहित हुनु सुखद रहेको चन्दले बताएका छन्।

कैलाली-५ मा १५ जना उम्मेदवार चुनावी मैदानमा थिए। जसमध्ये नागरिक उन्मुक्ति नेपालका जगन्नाथ चौधरी र स्वतन्त्र उम्मेदवार इश्वरी विष्टले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्दलाई समर्थन गरेका छन्। दुबै जनाले आफ्नो उम्मेदवारी निष्कृय पार्दै रास्वपा प्रवेश गरेका हुन्।

कमेन्ट लोड गर्नुस