सुदूर नेपाललाई विश्वसँग जोड्दै

इरानी आक्रमणमा परि यूएईमा १ नेपालीको ज्यान गयो

२०८२ फाल्गुन १८, ०७:१६ खबर संवाददाता

काठमाण्डौ: इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित ३ जनाको ज्यान गएको छ । यूएईको रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर नेपाल, बङ्गलादेश र पाकिस्तानका १, १ जना जनाको ज्यान गएको जनाएको छ । आक्रमणमा ५८ जना घाइते भएका छन् । घाइते हुने यूएई, इजिप्ट, फिलिपिन्स, भारत, पाकिस्तान, इरानलगायतका नागरिक रहेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

यूएईमा रहेको नेपाली दूतावासले घटनामा एकजना नेपाली नागरिकको ज्यान गएको जानकारी पाएको तर, विस्तृत जानकारी नभएको जनाएको छ । ज्यान गुमाउनेको परिचय पनि खुल्न बाँकी छ । यूएई रक्षा मन्त्रालयका अनुसार इरानतिरबाट १ सय ६५ वटा ब्यालिस्टिक क्षेप्यास्त्र हानिएकोमा १ सय ५२ वटा क्षेप्यास्त्रलाई निस्तेज पारिएको थियो भने १३ वटा समुद्रमा खसेको थियो । त्यस्तै दुई वटा क्रुज मिसाइल र ५ सय ४१ वटा ड्रोन पनि प्रहार गरिएको रक्षा मन्त्रालयले जनाएको छ । अधिकांश ड्रोनलाई निस्तेज पारिए पनि २१ वटा ड्रोन भने नागरिक भएका ठाउँमा खसेको जनाइएको छ । 

यसैबीच मध्यपूर्वमा बढ्दै गएको तनावलाई मध्यनजर गर्दै सरकारले सम्बन्धित देशका नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

परराष्ट्रमन्त्री बालानन्द शर्माका अनुसार बैठकमा मन्त्रीहरुले खाडी देशमा तनाव बढ्दा नेपालको विमानस्थलमा देखिएका समस्या समाधान भइसकेको ब्रिफिङ गरेका छन् । ट्रान्जिटमा परेका नेपाली कामदार तथा उपचारका लागि गएका बिरामीहरूलाई परेको असुविधा सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरूसँग समन्वय गरी उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउने व्यवस्था मिलाइएको समेत मन्त्री शर्माले जानकारी दिए।  

परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको भन्दै कूटनीतिक तथा प्रशासनिक पहल शुरु गरेको जनाएको छ । परराष्ट्र मन्त्रालयको मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काले प्रभावित क्षेत्रका लागि ट्राभल एडभाइजरी जारी गरिएको बताउनुभयो । मन्त्रालयले विभिन्न देशहरूले जारी गरिरहेका आधिकारिक वक्तव्य र समग्र सुरक्षा अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ ।

मध्यपूर्वका देशमा अहिले झन्डै १७ लाख २९ हजार २ सय ८८ नेपाली नागरिक रहेका मन्त्रालयको विवरण छ । मन्त्रालयका अनुसार अहिले भिसा र टिकट भइसकेर पनि उडान रोकिने अवस्था, गन्तव्य देशमा पुगेर एयरपोर्टबाट बाहिर निस्कन कठिनाइ, ट्रान्जिटमा अलपत्र परेका यात्रु, विशेषतः युरोप–अमेरिका जाने क्रममा, गन्तव्य देश पुगे पनि रोजगारदातासम्म पुग्न नसकेका श्रमिक रहेका छन् । यसका लागि सम्बन्धित निकाय र वैदेशिक रोजगार व्यवसायीमार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

 

कमेन्ट लोड गर्नुस