सुदूर नेपाललाई विश्वसँग जोड्दै

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा सरकारको उच्च प्राथामिकतामा : परराष्ट्र मन्त्रालय

२०८२ फाल्गुन १७, ०५:४५ खबर संवाददाता

काठमाण्डौः सरकारले मध्यपूर्वमा विकसित घटनाक्रमका कारण विभिन्न विमानस्थल र देशहरूमा फसिरहेका नेपालीको उद्धार र सहजीकरणको लागि र्‍यापिड एक्सन टिम गठन गर्ने तयारी गरेको छ । आज परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले मध्यपूर्वका देशसहित विभिन्न विमानस्थलमा समस्यामा परेका नेपालीहरुको उद्धारको लागि र्‍यापिड एक्सन टिम गठन गर्न लागेको जानकारी गराएका हुन्। 

मध्यपूर्वमा भइरहेका पछिल्ला घटनाबाट अहिलेसम्म कोही पनि नपाली घाइते वा मृत्यु नभएको भन्दै मन्त्रालयले घटनाक्रमलाई नजिकबाट नियालीरहेको बताएको छ । सहसचिव कृष्णप्रसाद ढकालले मध्यपूर्वमा रहेका नेपालीहरुलाई नआत्तिन आग्रह गर्दै सम्बन्धित देशले दिएको सूचना पालना गर्न अनुरोध गरे। 

मन्त्रालयले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको भन्दै कूटनीतिक तथा प्रशासनिक पहल शुरू गरेको जनाएको छ । परराष्ट्र मन्त्रालयको मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काले प्रभावित क्षेत्रका लागि ट्राभल एडभाइजरी जारी गरिएको बताए। 

सम्बन्धित देशहरूमा रहेका नेपाली दूतावास तथा नियोगहरूले पनि सूचना र सतर्कता सन्देश सार्वजनिक गरिसकेको बताए। मन्त्रालयले विभिन्न देशहरूले जारी गरिरहेका आधिकारिक वक्तव्य र समग्र सुरक्षा अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ ।

सहसचिव खड्काका अनुसार मध्यपूर्वका विभिन्न देशमा अहिले झन्डै १७ लाख २९ हजार २ सय ८८ नेपाली नागरिक रहेका छन् । जसमा इरानमा १० जना नेपाली रहेका छन् । ती ४ जना नेपाल फर्किसकेका छन् भने ६ जना इरानमै छन् । यस्तै इजरायलमा झन्डै ६ हजार ५ सय नेपाली नागरिक रहेका छन् । 

मन्त्रालयका अनुसार अहिले चार प्रकारले नेपाली नागरिक समस्यामा परेको देखिएको छ । जसमा भिसा र टिकट भइसकेर पनि उडान रोकिने अवस्था, गन्तव्य देशमा पुगेर विमानस्थलबाट बाहिर निस्कन कठिनाइ, ट्रान्जिटमा अलपत्र परेका यात्रु, विशेषतः युरोप–अमेरिका जाने क्रममा, गन्तव्य देश पुगे पनि रोजगारदातासम्म पुग्न नसकेका श्रमिक रहेका छन् । यसका लागि सम्बन्धित निकाय र वैदेशिक रोजगार व्यवसायीमार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

कमेन्ट लोड गर्नुस