सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिका–इजरायल आक्रमणमा इरानमा सयौँको मृत्यु,सर्वोच्च नेता मारिएको ट्रम्पको दाबी

२०८२ फाल्गुन १७, १२:१० खबर संवाददाता

एजेन्सी: संयुक्त राज्य अमेरिका र इजरायलको आक्रमणपछि इरानमा कम्तिमा १३३ जना नागरिकको मृत्यु भएको जनाइएको छ। इरानमा मानवअधिकारसँग सम्बन्धित अमेरिकी समाचार संस्था एचआरएएनएका अनुसार उक्त आक्रमणमा २०० भन्दा बढी घाइते भएका छन्।

उक्त संस्थालाई उद्धृत गर्दै सिएनएनले आक्रमणमा आठ जना सैन्य अधिकारी पनि मारिएको उल्लेख गरेको छ। मृतकको संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ।

यसअघि इरानको सरकारी टेलिभिजन प्रेस टिभीले २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको रिपोर्ट सार्वजनिक गरेको थियो। अमेरिका र इजरायलले इरानका २४ प्रान्तका विभिन्न स्थानमा लक्षित हमला गरेको जनाइएको छ। उनीहरूले उच्च अधिकारी र सैन्य संरचनालाई मात्र निशाना बनाइएको दाबी गरेका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको दाबी गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा पोस्ट गर्दै संयुक्त आक्रमणमा खामेनी मारिएको बताएका हुन्।

उनले खामेनीलाई इतिहासकै सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक भन्दै उनको मृत्यु इरानी जनता, अमेरिका र विश्वका लागि न्याय भएको दाबी गरेका छन्।
 

कमेन्ट लोड गर्नुस