सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री हुँदा मैले गरेका कामलाई डोटीका जनताले मूल्यांकन गरेका छन्: भट्ट

२०८२ फाल्गुन १६, ०२:०७ खबर संवाददाता

नेपाली कम्युनिष्ट पार्टीका नेता त्रिलोचन भट्ट २०७४ सालको निर्वाचनमा डोटीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि पाँच वर्ष सुदूरपश्चिमको मुख्यमन्त्री बनेर सरकार चलाए। २०७९ को निर्वाचनमा भने उनी उम्मेदवार बनेनन्। पाँच वर्ष मुख्यमन्त्री हुँदा निस्कलंक बाहिरिएर सादगी नेताको छवि बनाएका भट्ट यसपालिका डोटीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्। चुनावको सन्दर्भमा भट्टसँग गरिएको कुराकानी।  

प्रचारप्रसारको अवधि सकिदै छ, चुनावी अभियान कसरी चलाइरहनु भएको छ ?
म डोटी जिल्लाका ६५ वटै वडा र अधिकांश गाउँबस्तीमा घरदैलो अभियान लिएर पुगेको छु। जिल्लाका सबै भूगोलमा गएर जनताका बिचमा आफ्ना कुरा राख्ने, जनताका कुरा सुन्ने, भेटघाट गर्ने, भोट माग्ने काम गरेको छु। अहिले पनि जनतामा गएर आफ्ना कुरा राख्ने, जनताका कुरा सुन्ने कार्य निरन्तर छ। २०७४ सालमा डोटेली जनताले मलाइ निर्वाचित गराएर पठाइसकेपछि म प्रदेशको मुख्यमन्त्री भएँ। मुख्यमन्त्री भएपछि डोटीको विकासमा मैले जुन प्रकारको भूमिका निर्वाह गरेको थिएँ, वर्षौँदेखि नभएका कामलाई सम्पन्न गर्ने, नयाँ कामको थालनी गर्ने, गाउँघरमा सानादेखि ठूला योजना योजना कार्यान्वयन भएका थिए। यसबाट जनताले पनि आशा र भरोसा गरेको पाएको छ। यसले भोलिको दिनमा पनि मलाइ जिताएर पठाए भने थप काम गर्न सकिन्छ भन्ने महसुुस गरेको छु।

जनताका केकस्ता सुझाव र अपेक्षाहरु पाउनु भयो?
देशमा पछिल्लो चरणमा जुन प्रकारको परिस्थिति देखिएको छ, राष्ट्रियता खतरामा परेको, लोकतान्त्रिक गणतन्त्र र संविधान खतरामा परेको कुरामा जनताको चाँसो देखिएको छ। यसलाई सही बाटोमा ल्याउनु पर्छ र सही बाटोमा ल्याउन चुनावनै हुनुपर्छ भन्ने बुझाइ देखिन्छ। अर्को आफ्नै गाउँघरको विकासको कुरामा चाँसो छ। विगतमा जुन अभाव थिए, त्यसलाई मेरो कार्यकालमा केही सम्बोधन त भए तर त्यतिले मात्र पुगेको छ भन्ने छैन। आफ्नो बस्तीको विकास, गाउँको विकास, शिक्षा, स्वास्थ्य रोजगारी, कृषिमा आधुनिकीकरणका विषयमा जनताको चाँसो र अपेक्षा देखिएको छ। काम गर्न सक्ने र काम गरेको व्यक्तिलाई मत दिनुपर्छ भन्ने आमधारणा रहेको देखिएको छ र मैले त्यो पाएको छु। 

चुनावको दौरानामा जनताको घरदैलोमा नेताहरु पुग्छन् तर जितिसकेपछि सबै नेताहरु फर्केर आउँदैनन् भन्ने कुरा पनि उठेको छ। मेरो हकमा त्यो कम उठेको छ। किनकी म आफू मुख्यमन्त्री हुँदा नपुगेको ठाउँमा पनि मैले गरेको विकास कुनै न कुनै रुपमा पुगेको हुनाले जनताले त्यो आधारमा बुझेका छन्। तपाथि केही सकारात्मक गुनासाहरु पनि आएका छन्। निर्वाचित भएर गइसकेपछि नेताहरुले काम गर्नुपर्छ, जनताको घरदैलोमा विकास गर्नुपर्छ र उनीहरुको चाहनाअनुसार अगाडि बढ्नुपर्छ भन्ने कुरा जायज पनि हो। गाउँघरका समस्या खानेपानी, सिँचाइ, दैनिक समस्याका समाधानका कुरा र ठूला योजनाहरु फास्ट ट्रयाक, पश्चिम सेती, एसआर ६ जस्ता योजनाहरु अगाडि बढाउनु पर्छ, ठूलो लगानी ल्याएर कृषिमा काम गर्नुपर्छ भन्ने अपेक्षा जनतामा छ। 

तपाइ के एजेण्डा लिएर जनतामाझ गइरहनु भएको छ?
अरु पार्टीका उम्मेदवार र मबिच फरक छ। अरु पार्टीका उम्मेदवार हामी यसो गर्छौँ भनेर प्रतिवद्धता लिएर गइरहेका छन्। मचाँहि २०७४ को निर्वाचनपछि पाँच वर्षमा मैले यो यो काम गरेँ। जस्तै स्वास्थ्यमा मैले ५० सय्याको अस्पतालदेखि जिल्ला अस्पताल, स्वास्थ्यका स्थानीय तहमा भवनहरु निर्माण गर्ने, सेवा सुधार गर्ने, शिक्षामा डोटीका छ वटा क्याम्पसका आधुनिक भवन निर्माण, करिब ८० प्रतिशत विद्यालयमा भवन निर्माण गर्ने, आइटी ल्याब निर्माण गर्ने काम मेरो कार्यकालमा भएका छन्। खप्तडलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पहुँच सडक कालोपत्रे भएको थियो। 
    
डोटी जिल्लामा केआइसिंह राजमार्गबाहेक कुनै पनि ठाउँमा कालोपत्रे सडक थिएन। अहिले सहजपुुर–बोगटान सडक कालोपत्रे भएको छ। बुडर–जोरायल–गड्सेरा सडक कालोपत्रेको प्रकृयामा छ। खुटिया–दिपायल दु्रत मार्ग मेरै नेतृत्वको सरकारले निर्णय गरेर पठाएपछि संघीय सरकारले नाम संशोधन गरी बझाङसम्म क्षेत्र विस्तार गर्नुका साथै डोटी र कैलालीमा केही खण्ड कालोपत्रे पनि भएको छ। दिपायलमै खानेपानीको अभाव थियो। अहिले दिपायल र एअरपोर्टमा सेतीको पानी ल्याएर खाने अवस्था भएको छ। बाफीको डाँडा र तिखाको तल्लो क्षेत्रका जनताले सेतीको पानी खाइरहेका छन्। यी योजना हामीले नै अगाडि बढाएको हो। धेरैजसो बस्तीमा सिँचाइ योजना पुगेका छन्। यी मैले गरेका काम भए। 
    
आगामी दिनमा खप्तडमा पर्यटन विकास, खुटिया–दिपायल फास्ट ट्रयाक छिटोभन्दा छिटो सम्पन्न गर्ने, कृषिमा ठूला परियोजनाहरु ल्याएर कृषिको आधुनिकीकरण गर्ने, पश्चिम सेती र एसआर ६ योजनालाई अगाडि बढाउन पहल गर्नेलगायत केन्द्रबाट हुने योजनालाई अगाडि बढाउने विषयहरु अघि सारेको छु। यो सँगसँगै निजामति ऐन जो अहिलेसम्म केन्द्रमा बनेको छैन, शिक्षा ऐन नबन्दा तल समस्या भइरहेको छ। यस्ता केन्द्र सरकारबाट हुने कामहरु गर्छु भनेर प्राथमिकतामा राखेको छु। जनताका सानादेखि ठूला समस्या सम्बोधन गर्ने, ती योजना सञ्चालन गर्ने मेरो प्रतिवद्धता छ। सुशासन, सामाजिक न्याय, राष्ट्रियताका कुरा छन्।

इमान्दारितापूर्वक जनताको काम गर्ने व्यक्तिलाई पार्टी विशेष र कुनै व्यक्ति विशेष नभइ साझा रुपबाट हेरिदिनु पर्छ। काम गर्ने व्यक्तिलाई अगाडि ल्याउनु पर्छ भन्ने हिसाबले मैले जनतामा आफ्ना कुरा राखेको छु। यसलाई जनताले विश्वास पनि गरेका छन्।

तपाइ पाँच वर्ष सुदूरपश्चिमको मुख्यमन्त्री हुनुभयो, मुख्यमन्त्री हुँदा तपाइले गरेका कामलाई जनताले कसरी मूल्यांकन गरेको पाउनु भयो?
पाँच वर्षसम्म मुख्यमन्त्री हुँदा मैले इमान्दारितापूर्वक जनताको काम गर्ने प्रयास गरे। यसलाई जनताले निकै सकारात्मकरुपमा लिएको पाएको छु। चुनावी प्रचारका क्रममा म डेढ सय हाराहारी बस्तीमा पुगेको छु। सबै ठाउँमा जनताले मेरो कार्यकालमा भएका कामको प्रशंसा गरिरहेका छन्।

कमेन्ट लोड गर्नुस