सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिहान रेडियो, दिउँसो निर्वाचन प्रहरीः दार्चुलाकी सारंगीको दोहोरो जिम्मेवारी

२०८२ फाल्गुन १६, १२:०३ खबर संवाददाता

दार्चुलाः २०७८ सालदेखि स्थानीय एफएममा कार्यरत सारंगी खत्री यतिबेला आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरीको रूपमा पनि खटिएकी छन्। समाचार वाचन, कार्यक्रम प्रस्तुति र प्राविधिक जिम्मेवारी सम्हाल्दै आएकी खत्रीलाई निर्वाचन प्रहरीमा भर्ना भएपछि जिल्ला प्रहरी कार्यालयले सदरमुकाम खलंगामै खटाएको छ।

खलंगामै ड्युटी परेकाले उनले रेडियोको कामलाई पनि निरन्तरता दिइरहेकी छन्। बिहान ५ बजेदेखि १० बजेसम्म एफएममा काम गर्ने र त्यसपछि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म निर्वाचन प्रहरीको ड्युटी गर्ने तालिका रहेको उनले बताइन्।

“रेडियोको आम्दानीले मात्रै जीवन धान्न सकिँदैन। बेरोजगारीका कारण अन्य काम पाउन गाह्रो छ,” खत्री भन्छिन्, “त्यसैले छोटो समयका लागि भए पनि केही आम्दानी हुने भएपछि निर्वाचन प्रहरीमा भर्ना भएकी हुँ।”

दार्चुलाको मार्मा गाउँपालिका–४ घर भएकी खत्री जिल्लामा कार्यरत थोरै महिला पत्रकारमध्ये एक हुन्। नेपाल पत्रकार महासंघ दार्चुलाका निर्वतमान अध्यक्ष कृष्णसिंह धामीका अनुसार दुर्गम जिल्लामा पत्रकारिता गरेर जीविका चलाउन निकै कठिन छ, अझ महिला पत्रकारका लागि चुनौती झनै जटिल छ। यही कारण धेरै महिला पत्रकार लामो समय टिक्न नसक्ने अवस्था रहेको उनको भनाइ छ।

निर्वाचन प्रहरीको जिम्मेवारी सम्हाले पनि पत्रकारिता छाड्ने सोच भने खत्रीले बनाएकी छैनन्। “रहरले पत्रकारितामा छु, निर्वाचन प्रहरी बाध्यताले बनेकी हुँ,” उनले भनिन्, “चुनावमा प्रहरीको भूमिकाबाट देशको सेवा गर्न पाउँदा खुसी पनि लागेको छ।”

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार यसपटक दार्चुलामा २९७ जना महिला निर्वाचन प्रहरी भर्ना भएका छन्।
 

कमेन्ट लोड गर्नुस