झापा–५ मा चुनावी रिपोर्टिङका क्रममा पत्रकार आचार्यमाथि आक्रमण
काठमाडौँः झापा क्षेत्र नम्बर ५ मा चुनावी रिपोर्टिङ गरिरहेका रातोपाटीका पत्रकार अर्जुन आचार्यमाथि नेपाल कम्युनिष्ट पार्टी (एमाले) समर्थक युवाहरूले कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
एमाले निकट ‘युथ भोलिन्टियर्स’ समूहका ४–५ जनाले पत्रकार आचार्यलाई नियन्त्रणमा लिएर कुटपिट गर्नुका साथै उनको मोबाइल फोन र चस्मा खोसेर लगेको आरोप लागेको छ।
घटनाप्रति चौतर्फी आलोचना भइरहेको छ। जेनजी अभियन्ता माजिद अन्सारीले सामाजिक सञ्जालमार्फत घटनाको भर्त्सना गर्दै प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको सम्मान गर्नुपर्ने बताएका छन्। उनले एमाले निकट प्रेस चौतारीको धारणा माग गर्दै विगतमा व्यक्त गरिएको प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता सम्झाएका छन्।
आक्रमणकारीहरूले मोबाइल र चस्मा अझै फिर्ता नगरेको र ‘दमक आइज, हिसाब बाँकी छ’ भन्दै धम्की दिएको जनाइएको छ। घटनापछि सम्बन्धित निकायलाई पत्रकारको सुरक्षाको व्यवस्था गर्न र दोषीमाथि कानुनी कारबाही गर्न माग गरिएको छ।
प्रारम्भिक जानकारीअनुसार ‘भोट केमा?’ भन्ने नाराका क्रममा केही महिलाले ‘घण्टीमा’ भनेर जवाफ दिएपछि विवाद सुरु भएको थियो। सो क्रममा महिलामाथि अपमानजनक व्यवहार भएको दृश्य कैद गर्न खोज्दा पत्रकार आचार्यमाथि समूह झम्टिएको बताइएको छ।
आफू पत्रकार भएको परिचय दिँदा पनि युवाहरूले करिब ५० मिटर टाढा एकान्त स्थानमा लगेर कुटपिट गरेको विवरण सार्वजनिक भएको छ। निर्वाचनको संवेदनशील समयमा पत्रकारमाथि भएको यस घटनाले प्रेस स्वतन्त्रता र निष्पक्ष सूचना प्रवाहमाथि गम्भीर प्रश्न उठाएको छ।